ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “आफ्नै छोरीलाई करणी गरी गर्भवती” शीर्षकको समाचार पहिलो पृष्ठमा छापिएको छ । धनकुटाको चौविसे गाउँपालिकामा आफ्नै छोरीलाई बुबाले महिनौदेखि करणी गरेर गर्भवती बनाएको घटना सार्वजनिक भएको छ ।

गाउँको एक विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय किशोरीलाई विद्यालयकी शिक्षिकाले शंका लागेर सोधपुछ गर्ने क्रममा करणीबारे खुलेको हो । उनी यही वर्ष एसईईको तयारीमा छिन् । शिक्षिकाले सोधपुछ गर्ने क्रममा आफुलाई आफ्नै ३६ वर्षीय बुबाले महिनौदेखि करणी गर्दै आएको शिक्षिकालाई बताएकी थिइन् । अहिले ति छात्राको पेटमा ८ महिनाको गर्भ रहेको जिल्ला अस्पताल धनकुटामा स्वास्थ्य जाँचपछि खुलेको छ । छात्रा गर्भवती भएको विषयलाइृ लिएर अभिभावकलाई घरमा गएर विद्यालयको तर्फबाट शिक्षिकाले सम्झाएका थिए । छोरी गर्भवती भएको घरका सबै परिवारले थाहाँ पाएपछि सो गाउँमा हलचल मच्चिएको छ । छोरी गर्भवती भएको घटना अचानक सार्वजनिक भएपछि बुबाले छोरी विरामी परेको भन्दै अस्पताल लान लाग्दा विद्यालय प्रशासनको सहयोगमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउपछि बाबु छोरीलाई तत्काल जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याएर आवश्यक अनुशन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी आजको ब्लाष्ट दैनिकमा “पूर्व लडाकुलाई जीविकोपार्जनमै समस्या” शीर्षकको अर्को पनि समाचार छापिएको छ ।

इलामको चुलाचुली गाउँपालिका–१ स्थित कमलमा रहेको ३ कोठे सानो घर । यही घरमा बस्छन् अमरकुमार चेम्जोङ । शरीरको कम्मरदेखि तलको भाग चल्दैँन । शौचालय जानदेखि खानसमेत ह्वीलचियरको सहारा लिनुपर्छ । एक महिनादेखि दुवै खुट्टा सुन्निएका छन् । अस्वभाविक रुपमा स्वास्थ्यमा खराबी देखिएको छ । उपचार गर्ने पैसा छैन । विगत १३ वर्षदेखि ह्वीलचियरको सहारामा भित्र–बाहिर गर्छन् । मासिक औषधी खरिद गर्ने पैसासमेत छैन । यतिमात्र होइन, नेपाल सरकारको तर्फबाट केही महिनाअघि वितरण गरिएको मानपदवी ग्रहण गर्न समेत आवश्यक व्यवस्थापन गर्न नसक्दा जान सकेनन् उनी । यही योगदानको कदर गर्दै केही समयअघि नेपाल सरकारले सुप्रबल जनसेवा दृतीयद्वारा विभूषित गर्न राष्ट्रिय सम्मानका लागि ११६ नम्बरमा नाम समेत प्रकाशित गरेको थियो । तर आवश्यक कपडा र बाटो खर्च नहुँदा सम्मान ग्रहण गर्न काठमाण्डौँ जान नसकेको उनी बताउँछन् । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका १ नवमीमा स्थायी घर भई हाल इलामको चुलाचुली १ मा बस्दै आएका पूर्वमाओवादी लडाकु ४४ वर्षीय चेम्जोङको जीवन अहिले यस्तै अवस्थामा वितिरहेको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “एलपी ग्याँसको मूल्यमा मनपरी” शीर्षकको समाचार छापिएको छ ।

नेपाल आयल निगमले पछिल्लो समय गरेको मूल्य समायोजनअनुसार खाना पकाउने एलपी ग्यासको प्रतिसिलिण्डर खुद्रामूल्य विराटनगरमा १३ सय ८० रुपैयाँ निर्धारण गरिएको छ । तर प्रतिसिलिण्डर १३ सय ८० रुपैँयामा विराटनगरमा पाइने उक्त ग्यासको मूल्य भने भोजपुरमा १८ सय रुपैयासम्म तिर्नुपर्छ । भोजपुरका उपभोक्ता महँगो मूल्यमा खाना पकाउने ग्यास किन्न बाध्य रहेका छन् । भोजपुर बजारमा होटल व्यावसाय गरिरहेका गणेश श्रेष्ठले महँगोमा ग्यास किन्नुपर्ने बाध्यता रहेको बताए । ‘सरकारले तोकेको भन्दा चार सय बढि तिर्नुपर्छ’ श्रेष्ठले भने, ‘तर पनि भनेको समयमा पाउन गाह्रो छ ।’ व्यावसायीहरु भने भोजपुरसम्मको ढुवानी महँगो भएको कारण ग्यास महँगो भएको भएको भएको बताउँछन् । ग्यासको मूल्य महँगो भएको गुनासोपछि ५० रुपैयाँ घटाएर गत माघ २६ देखि १७ सय ५० मा बेच्न थालिएको छ ।

त्यसैगरी आजको नागरिक पूर्वेली दैनिकमा “पाँचथरमा आज सार्वजनिक विदा” शीर्षकको समाचार पनि छापिएको छ । शनिबार निधन भएका फाल्गुनन्द गाउँपालिकाका प्रमुख अमरकुमार नेम्वाङको आज बुधबार हुने दाहसंस्कारको दिन यहाँका स्थानीय ८ वटै तहले विदा दिएका छन् । फिदिम नगरपालिका तथा अन्य गाउँपालिकाहरुले विदा दिने निर्णय गरेका हुन् । मंगलबार नेम्वाङको शव श्रद्धाञ्जलीका लागि फाल्गुनन्द गाउँपालिकाको कार्यालयमा राखिएको थियो । उनलाई श्रद्धाञ्जली दिन गाउँपालिकाको केन्द्र घुर्बिसेपञ्चमीमा हजारौँ भेला भएका थिए । आज विहान नेपाली कांग्रेस पाँचथरको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि शव राखिने जानकारी दिइएको छ । आज दिउँसो फाल्गुनन्द ३ मा दाहसंस्कार हुदैँ छ ।

उद्घोष ः आजको उद्घोष दैनिकमा “बालबालिकालाई आर्थिक सहयोग” शीर्षकको समाचार छापिएको छ ।

मोरङको सुनवर्षी नगरपालिका ७ कुडेलीका तीन असहाय बालबालिकालाई नेपाल परिवार दलले ५० हजार आर्थिक सहयोग गरेको छ । सेतो लामखुट्टेको टोकाइबाट आमाबुबा गुमाएका तीन बालबालिकाको विचल्ली भन्ने शीर्षकमा समाचार पत्रिकामा आएपछि नेपाल परिवार दलले ५० हजार आर्थिक सहयोग गरेको हो । २०७० चैत ३० गते सेतो लामखुट्टेको टोकाइबाट फगुलाल राजवंशीको मृत्यु भएको थियो भने गएको साउनमा सेतो लामखुट्टेको टोकाइबाट सन्तोषी राजवंशीको मृत्यु भएको थियो । आर्थिक अवस्था कमजोर भएकाले उपचारको अभावमा दुवैजनाको मृत्यु भएछि १५ वर्षीय दीपक, ९ वर्षीय राजीव र ५ वर्षीय रोशन राजवंशी विचल्लीमा परेको थियो ।