भोजपुर :  भोजपुर र सङ्खुवासभा जोड्ने लम्सुवाघाटको पुल अलपत्र बनेपछि स्थानीवासी प्रभावित बनेका छन् । प्रदेश सरकारलाई दबाब दिने निर्णय गरिएको छ ।

स्थानीयवासीले पुल निर्माण कार्यलाई चाँडो गर्न षडानन्द नगरपालिका घेराउ गरेपछि गाउँपालिका र स्थानीयवासीबीच प्रदेश सरकारलाई दबाब दिने निर्णय भएको हो । सोमबार बसेको कार्यपालिकाको बैठकले कार्यपालिकाका सम्पूर्ण पदाधिकारी नै प्रदेश कार्यालयले पुगेर सडक डिभिजन, प्रदेश सरकार र सङ्घीय सरकारलाई दबाब दिने निर्णय गरेको नगर प्रमुख वीरबल राईले जानकारी दिए । विसं २०६७ बाट निर्माण शुरु भएको १६७ मिटर लामो सो पुलको सात पिलर आधा मात्रै उठाइएको छ ।

विसं २०७२ असोजमा निर्माण सम्पन्न हुनुपर्ने पुलको जमीनमुनिको पिलर निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएकाले पुल निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनी भागेपछि पुल अलपत्र परेको हो । रु १३ करोड पाँच लाखको लागतमा सम्पन्न गर्ने गरी पहिलो पटक सम्झौता गरिए पनि समय थप्ने क्रममा पिलरको डिजाइन परिर्वतन गरेसँगै यो पुलको लागत रु १६ करोड ६३ लाख पुर्याईएको छ । पुल निर्माणको काम अलपत्र भएपछि स्थानीयवासी अहिले निराश भएका छन् । पुल अभावका कारण स्थानीयवासी अहिले डुङगाको साहारामा जोखिमपूर्णयात्रा गर्न बाध्य छन् ।