इनरुवा: सुनसरीको दुहबी नगरपालिका ८ स्थित सनराइज पेपर उद्योगले प्रदुषण बढाएको भन्दै स्थानीय महिलाहरुले बुधवार प्रर्दशन गर्दै उद्योगमा तालाबन्दी गरेका छन् ।

स्थानीयबासीको समस्याप्रति जनप्रतिनिधिहरुले पनि वास्ता नगरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको महिलाहरुको भनाई छ । यसअघि नगरपालिका र उद्योगमा निवेदन दिदा पनि सुनुवाई नभएको उनीहरुको गुनासो छ । स्थानीय कल्पना पौडेलका अनुसार उद्योगबाट निस्कने कालो छाइ र दुर्गन्धित पानील नजिकैको वस्तीमा बस्न सक्ने अवस्था छैन । आफ्ना छोराछोरी र वृद्धवृद्धाहरुको स्वास्थ्यमा ठुलो असर पुगिरहेको उनले बताइन् । जनप्रतिनिधिले पनि हाम्रो समस्या हल गर्न चासो दिएनन्, त्यसैले हामी आफै नै आन्दोलनमा आउनुपर्यो, उनले भनिन् ।

sunrise

स्थानीयबासीले यसअघि ८ नं वडा कार्यालयमा उद्योगले असर पुगेको भन्दै निवेदन दर्ता गराएका थिए । यो उद्योग विडी राठीको हो । उद्योगको फोहोर पानी, धुवा, धुलोलगायतले मानव स्वास्थ्यसँगै पशुपंक्षी, खेती, सिचाईलगायतमा पनि ठुलो असर पुगिरहेको आन्दोलित स्थानीयबासीहरुको भनाई छ । उद्योगबाट २ सय भन्दा बढी घर परिवारमा ठुलो असर परिरहेको वातावरण संरक्षण तथा दक्ष जनशक्ती विकास केन्द्रकी अध्यक्ष लक्ष्मी ठाकुरले बताइन् । स्थानीयासीले उद्योगको प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने माग गरेका छन् ।

तस्बिर स्रोत:प्रेम गिरी