धरान: सहिद स्मारक ए डिभिजन लिगको उपविजेता सिएमजी संकटा क्लब र आयोजक धरान फुटबल क्लबीच आज २१ औं बुढासुब्बा रेडबुल गोल्डकपमा पहिलो सेमीफाइनल खेल हुदैछ ।

लिगको उपविजेटा टोली संकटाले घरेलु मैदानमा दर्शको साथ पाएर उच्च मनोवलसहित मैदानमा उत्रने टोली(आयोजक)सँग भिड्न निक्कै चुनौती छ । यद्यपी, लिगको उपविजेता टोली पनि उच्च मनोवलको साथ मैदानमा उत्रनेछ । लिग उपविजेता मात्र होइन, पहिलो खेलमा मेची नेत्रालय केएफटिसि क्लबसँग पहिलो र दोस्रो हाफमा पछि परेको अवस्थामा संकटाले खेल बराबरी मात्र गरेन, सडन डेथमा जितको नतिजा निकाल्दै अन्तिम चारमा स्थान बनाएको थियो । त्यसैले आजको खेल उपाधि दाबेदार टोलीबीच हुनेछ । अहिलेसम्म बुढासुब्बा गोल्डकपमा उपाधिविहिन बनेको दुवै टोली गर या मरको अवस्थामा हुनेछ ।

Ruslan Ad

आयोजकले पहिलो खेलमा कलकत्ताको सुपर लिग क्बल डेल हाउसीलाई हराएर सेमीफाइनल पुगेको थियो । सबै धरानका युवा खेलाडी मैदानमा उतारेको आयोजकले डेल हाउसीमाथि सहज जित पाएको थियो । युवा खेलाडीहरुले उत्कृष्ट खेल पस्किएका थिए । आज पनि पहिलो खेलझै लय समात्न सके संकटालाई निक्कै चुनौती हुनेछ । संकटा बुढासुब्बाको २१ औं सँस्करणसम्म आइपुग्दा तेस्रो सहभागिता हो । संकटा १९ औ सँस्करणमा उपविजेता भएको थियो ।

आयोजक भने पहिलो सँस्करणमा नै फाइनल खेलेको थियो, तर बुल्गेरिया स्पोर्टिङ क्लबसँग पाराजित बनेपछि उपाधिविहिन बन्यो । दोस्रो सँस्करणमा पनि फाइनल खेलेको धरानलाई महेन्द्र पुलिस क्लबले उपविजेतामै सिमित बनायो भने चौथो सँस्करणमा पनि पुलिसँग नै फाइनलमा हारेको थियो । आठौ सँस्करणमा अफ्रिकन युनाइटेडसँग फाइनलमा पराजित भएको धरान त्यसपछि भने सेमीफाइनल पार गर्न सकिरहेको छैन ।