धरान: धरानका गोलकिपर विनय श्रेष्ठले टाइब्रेकरमा सिएमजी संकटा क्लबको २ पेनाल्टी प्रहार रोकेपछि आयोजक धरान फुटबल क्लब २१ औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनल पुगेको छ ।

धरान १६ स्थित रंगशालामा आज सम्पन्न पहिलो सेमीफाइनल खेलमा संकटा क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउदै आयोजक धरान फाइनल पुगेको हो । धरानलाई फाइनल पुर्याउन गोलकिपर विनयले महत्वपुर्ण योगदान दिए । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै टाइब्रेकरबाट छिनोफानो भएको हो । टाइब्रेकरमा विनयले संकटाको २ वटा पेनाल्टी रोकेपछि धरान फाइनल पुग्न सफल भयो ।

Ruslan Ad

विनयले टाइब्रेकरमा संकटाका सेड्रिक अबा र सरोज दाहालको पेनाल्टी प्रहार रोके । संकटाका अमित तामाङ, दिपेश आले मगर र लक्ष्मण रुचालले मात्र गोल गर्न सके । धरानका तर्फबाट भने वर्तमान राई, मिलन राई, योगेश राई र दोर्जे तामाङले गोल गरे भने हेमन्त थापा मगरको प्रहार संकटाका राजाबाबु थापाले रोकेका थिए । खेलको म्यान अफ दि म्याच धरानका गोलकिपर विनय श्रेष्ठ घोषित भए । उनलाई सुनसरी टेक्निल कलेजका प्रबन्ध निर्देशक लेखीराज सुब्बाले नगद १५ हजार र ट्रफी प्रदान गरे । धरानले फाइनलमा डाफिन्स क्लब क्यामरुन र नेपाल पुलिस क्लबबीच हुने दोस्रो सेमीफाइनलको विजेताको सामना गर्नेछ । प्रतियोगितामा भोली शुक्रबार क्यामरुनी क्लब र पुलिसबीच दोस्रो सेमीफाइनल खेल हुनेछ ।

IMG_0938 IMG_0903