एजेन्सी: भारतको जम्मू–कश्मीरमा आतंकवादी आक्रमण भएको छ । जम्मू–कश्मीर उपत्यकाको पुलवामा जिल्लाको लेथपोरा नजिकैको श्रीनगर–जम्मू राजमार्गमा भारतीय सुरक्षाकर्मी सीआरएफको बसमा बिहिबार आक्रमण भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आक्रमणमा कम्तिमा ३७ जना सुरक्षाकर्मी मारिएको बताइएको छ । आक्रमणमा करिब ४४ जना सुरक्षाकर्मी घाइते भएका छन् । मारिनेको संख्या अँझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सो राजमार्ग हुँदै चलेको सीरआरएफको बसमा विस्फोट गराइएको भारतीय प्रहरीले जनाएको छ । 

३०० किलोमिटरको यो राजमार्ग रणनीतिक रुपमा निकै महत्वपूर्ण मानिन्छ । यो राजमार्गमा सँधै सुरक्षाकर्मीको निगरानी रहन्छ । आक्रमणमा घाइते भएकाहरुलाई आर्मीको हेलिकोप्टरबाट उद्दार गरिएको छ । उनीहरुलाई श्रीनगरस्थित आर्मीको अस्पतालमा ल्याइएको बीबीसीले जनाएको छ ।

20190214_215358

आक्रमणपछि यो राजमार्ग पूर्ण रुपमा बन्द गरिएको छ । आक्रमण भएको क्षेत्रमा भारतीय सुरक्षाकर्मीको ब्यापक परिचालन गरिएको छ । आक्रमणकारीको खोजीमा सुरक्षाकर्मी जुटेको बीबीसीले जनाएको छ । दुई बसमा सीआरएफका सुरक्षाकर्मी थिए । उनीहरुको सुरक्षाका लागि प्रहरीका जीप अगाडि र पछाडि रहेको बताइएको छ ।

प्रतिबन्धित चरमपथी संगठ जैश–ए–मोहम्मदले आक्रमणको जिम्मेवारी लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जैश–ए–मोहम्मदका प्रवक्ता मोहम्मद हसनले एक बयान जारी गरेर आक्रमणको जिम्मा लिएका छन् । उनले सो आक्रमण आदिल अहमद उर्फ वकास कमाण्डोले गराएको बताएका छन् । वकास कमाण्डो पुलवा जिल्लाका नागरिक रहेको बताइएको छ ।