धरान: २१ औं बुढासुब्बा रेडबुल गोल्डकप आयोजना भइरहेकोले धरान १६ स्थित रंगशालामा हिजोआज छुट्टै रौनक छ । रंगशालाको प्रवेश गेट, भित्र र प्याराफिट पनि सजिएका छन् ।

राष्ट्रिय खेलकुद परिषद(राखेप)ले धरान रंगशालालाई पुर्णता दिन नसके पनि विभिन्न संरचनाहरु सुस्त गतिमै भएपनि निर्माण भइरहेको छ, र विस्तारै रंगशालाले आकार ग्रहण गरिरहेको छ । धरानेहरुलाई धरान रंगशालाले छिटो पुर्णता पाएर आकार ग्रहण गरेको हेर्ने तीब्र चाहना छ । यसैबीच, बिहिबारदेखि रंगशालाको अग्रभागमा आकर्षक स्तम्भ थपिएको छ । यो स्तम्भ रंगशाला मुख्य गेट(पुर्वतर्फ)बाट भित्र प्रवेश गर्दागर्दै देखिन्छ ।

51977509_1141676145994509_3

मानिसको हातले वललाई थामेको प्रतिकात्मक स्तम्भ छ । यसले सबै मिलेर वल वा पृथ्वीलाई थामेको भन्ने सन्देश दिने धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले बताए । उनका अनुसार धरान रंगशाला सरकारको बजेटबाट मात्र नभै धरानबासीका साथै हंगकंग, युके, सिंगापुरलगायत देशमा रहेका धरानेहरुको पनि सहयोगमा निर्माण भएकोले त्यसैको प्रतिकमा यो स्तम्भ निर्माण गरिएको हो । 'रंगशाला घेराबारा गर्न आदरणीय धरानबासीसँगै हंगकंग, युके, सिंगापुरबाट पनि सहयोग भयो, सबैले मिलेर नै निर्माण भएकोले यो स्तम्भमा सबैको हातले, सहयोगले बनेको प्रतिककोरुपमा बनाइएको हो,'अध्यक्ष राईले भने ।

स्तम्भ निर्माणमा अहिलेसम्म साढे १२ लाख खर्च भइसकेको क्लबले जनाएको छ । अझै पुर्णता दिदा केही खर्च बढ्नेछ । स्तम्म्भसँगै सहयोगीहरुको नाम पनि राखिनेछ । यो स्तम्भको औपचारिकरुपमा अनावरण गर्न भने बाँकी नै छ ।