इटहरी:मोरङको सुन्दर हरैचामा तेस्रो एक्स्पोको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

शुक्रबार गछिया चोकमा पत्रकार सम्मेलन गर्दै आयोजक सुन्दर दुलारी उद्योग बाणिज्य संघले शनिबारदेखि शुरु हुने एक्स्पोको तयारी पुरा भएको जानकारी दिएको हो । औद्योगिक उत्पादन र प्रविधि प्रवद्र्धन, कृषि क्षेत्रमा गुणस्तरीय र व्यवसायिक उत्पादनमा वृद्धि गर्ने उद्देश्य एक्स्पोको रहेको आयोजकको भनाई छ । यस्तै, पर्यटन क्षेत्रको विकास, कृषिमा यान्त्रिकीकरण, उत्पादक र उपभोक्ता बीचको सम्बन्ध विस्तार, सम्भावित बजारको पहिचान, प्रविधि पहिचान, उत्पादकहरु बीच स्वस्थ प्रतिस्पर्धा गराउने उद्देश्य भएको संयोजक किशोर कार्कीले बताए ।

शनिबार सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्ने एक्स्पोमा तीन लाख बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोमा गायक राजेशपायल राई, रामकृष्ण ढकाल, प्रमोद खरेल, आस्था राउत, राजन राज सिवाकोटी, मेलिना राई, निशान भटराई लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ । नेपालकी सबैभन्दा होची मालती क्रषिदेव पनि रहनेछिन् भने उट, हात्ती, घोडा, अष्ट्रिज, भेडा टर्की लगायत राखिने आयोजकले जनाएको छ । एक्सोमा १५ करोड भन्दा माथिको कारोबार हुने अनुमान गरिएको एक्स्पोमा हेलिकप्टरको माध्यमबाट पाथीभरा मन्दिर दर्शनका लागि ३२ हजार र सिटि टुरका लागि ५ हजार शुल्कमा व्यवस्था गरिएको छ ।