धरान: आयोजक धरान फुटबल क्लबलाई निराश बनाउदै क्यामरुनको पाहुना टोली डाउफिन्स एफसिले २१ औं बुढासुब्बा रेडबुल गोल्डकपमा च्याम्पियन बनेको छ ।

धरान १६ स्थित रंगशालामा शनिबार सम्पन्न फाइनलमा आयोजकलाई टाइब्रेकरमा ३–२ ले स्तब्ध बनाउदै क्यामरुनको डाउफिन्स एफसि च्याम्पियन बनेको हो । डाउफिन्स पहिलो पटक सहभागितामा नै उपाधि जित्न सफल हुदा आयोजक भने पाँचौ पटक फाइनलमा असफल बन्दै उपाधि विहिन भयो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिए पछि खेल टाइब्रेकरमा पुगेको थियो । हुरी र झरीले विथोलिए पनि रेफ्रीले निरन्तर पेनाल्टी सुट गराउदा धरानका खेलाडी गोल गर्न असफल भए । १२ बर्ष पछि धरान फाइनल पुगेको कारण रंगशाला खचाखच घरेलु दर्शकले भरिएको थियो । तर, टाइब्रेकरमा घरेलु दर्शक निराश बने ।

Ruslan Ad

टाइब्रेकरमा ४ जनाले पेनाल्टी प्रहार गर्दासम्म धरानका प्रकाश बुढाथोकी र दोर्जे तामाङ मात्र गोल गर्न सफल भए । मिलन राईको प्रहार डाउफिन्सका गोलकिपरले रोके भने योगेश रार्ईको बाहिरिएको थियो । डाउफिन्सबाट पनि जो अंगोला र पेटेङ्गाले गोल गर्दा विइक विइक र इलेवेमको प्रहार बाहिरिदा धरानको उपाधि जित्ने आशा जिवितै बनेको थियो । त्यसबेलासम्म दुवैबाट बराबरी २–२ गोल भएको थियो । अन्तिममा निर्णायक प्रहार गर्दा डाउफिन्सका यानिक ओवानाले गोल गरे भने धरानका हेमन्त थापा मगर असफल भए । उनको प्रहार डाउफिन्सका गोलकिपर प्रिसोले रोकेपछि धरान पाँचौ पटक फाइनलमा पराजित भयो ।

DSC_0979

च्याम्पियन डाउफिन्सले नगद ८ लाख पुरस्कार र ट्रफी हात पार्यो भने उपविजेता धरान ४ लाखमा चित्त बुझायो । डाउफिन्सले नेपाली भुमिमा एक सातामै दोस्रो उपाधि हात पारेको हो । यसअघि गत माघ २८ गते पोखरामा सम्पन्न मनकामना केवलकार पोखरा कप पनि जितेको थियो । खेलाडीहरुलाई आयोजक क्लबका अध्यक्ष किसोर राई, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, अर्थमन्त्री इन्द्र आङ्बो, सांसद उमिता वराइलीलगायतले पुरस्कार वितरण गरेका थिए ।

तस्बिरहरु: सनम तामाङ

DSC_0958