ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “चियामा लाखौँ सक्दै इटहरी उपमहानगरपालिका” शीर्षकको समाचार छापिएको छ । चियानास्ता तथा विविध खर्चमा इटहरी उपमहानगरपालिकाले लाखौँ रुपैँया सक्ने गरेको खुलासा भएको छ । इटहरी उपमहानगरपालिका आसपासका चियापसलहरुको नाममा उपमहानगरले लाखौ विल भुक्तानी गरेको पाइएको छ ।

जनताबाट उठाएको कर वर्षेनी चिया, नास्ता र अतिथी सत्कार भनेर होटल र चियापसलमा सक्ने गरेको पाइएको हो । उपमहानगरपालिकाको कर्मचारीहरुले गत तीन आर्थिक वर्षमा ४६ लाख, ७३ हजार ३ सय ४५ रुपैँया चियाको नाममा झ्वाम पारेका छन् । चिया र नास्ता तथा विविध खर्चमा लाखौँ रुपैँया सकिने गरेको इटहरी उपमहानगरपालिका आफै स्वीकार गर्छ । इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत बाबुराम आचार्यका अनुसार आर्थि वर्ष २०७२÷७३ मा विविध खर्च भन्दै १० लाख ७६ हजार ८ सय ८५ खर्च भएको छ । चिया, नास्ता र अतिथी सत्कारको नाममा २ लाख ८ हजार ६ सय २५ रुपैयाँ र अघिल्लो वर्षको बाँकी रकम रु. ८४ हजार ५८ गरी १३ लाख ६९ हजार ५ सय ६८ भुक्तानी गरेको देखिन्छ । त्यस्तै आर्थिक वर्ष २०७३÷७४ को विविध अर्च अन्र्तगत चियापसल र होटललाई ३ लाख ८४ हजार ५ सय ८४ रुपैयाँ भुक्तानी दिएको छ भने चिया, नास्ता र अतिथी सत्कार बापत ६ लाख ५० हजार १ सय ९२ रुपैयाँ होटलहरुमा खर्चिएको छ । गत आर्थिक बर्षमा ११ लाख १८ हजार ४ सय ४६ खर्च गरेको छ ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “चीन जोड्दै तमोर करिडोर” शीर्षकको अर्को समाचार पनि छापिएको छ । धनकुटाको मूलघाटस्थित लाबरबोटेदेखि ताप्लेजुङ जिल्लाको फङ्लिङ बजार हुदै चीनको सिमानामा रहेको ओलाङचुङगोलासम्मको तमोर करिडोर सडक निर्माण कार्य धमाधम भैरहेको छ । धनकुटाको मूलघाटदेखि २०६६ सालबाट शुरु गरिएको तमोर करिडोर अन्तर्गतको ट्रयाक निर्माण कार्य धमाधम भैरहेको बताइएको छ । तमोर करिडोर सडकले मधयपहाडी लोकमार्गलाई जोड्न करिब २५ किलोमिटर मात्र बाँकी रहेको छ भने ताप्लेजुङ हुँदै चीनको सिमानामा रहेको ओलाङचुङगोलालाई जोड्न करिब ३० किलोमिटर मात्र रहेको ताप्लेजुङ ओलाङचुङगला सडक आयोजना ताप्लेजुङका प्रमुख कुवेर नेपालीले जानकारी दिएका छन् ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “चट्याङले १ को मृत्यु, ९ घाइते” शीर्षकको समाचार छापिएको छ । पानी–झरीसंगै परेको चट्याङले पाँचथरमा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । साँझको समयमा चट्याङले फाल्गुनन्द गाउँपालिका ३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको जिल्लाका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुवँरले जानकारी दिए । चट्याङले उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन् । घाइतेको पाँचथर जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि रिफर गरिएको छ । काकाको घरमा खेल्दै गर्दा पानी परेपछि बरण्डामा ओत लाग्दै गरेको बेला चट्याङ पर्दा उक्त घटना भएको डिएसपी कुवँरले जानकारी दिए ।

त्यसैगरी आजको नागरिक पूर्वेली दैनिकमा “घरैपिच्छे चोरीको विधुत” शीर्षकको अर्को समाचार पनि छापिएको छ । लहान बजारबाट ९ किलोमिटरको दुरीमा एउटा गाउँ आउँछ–साठियान । गाउँ प्रवेश गर्नासाथ जोकोहीको आखाँ बिजुलीको खम्बामा झुण्डिएको तारमाथि पर्छ । तारमाथि नजर दौडाउँदा माकुराको जालो झैँ जेलिएको हुकिङ जालो नजर आउँछ । लाग्छ यहाँका स्थानीयका लागि सरकारले निः शुल्क विधुतको बन्दोबस्त गरिदिएको छ । गाँउको दक्षिण बस्ति पुरै हुकिङको भरमा बिजुली बालिरहेको भेटिन्छ । करिब १ सय घरको यो बस्तीमा जम्मा ५, ६ वटा घरमा मात्र मिटर जडान भएको पाइन्छ । बाँकी घरहरु हुकिङको भरमा उज्यालिएका छन् । एकपोलदेखि अर्को पोलको दूरीभित्र कति हुकिङ छ, गन्ती गर्नै सकिदैन । यस गाँउमा विधुत् प्रवाह भएको वर्षौ भइसक्यो । सितैमा बिजुली उपभोग गर्न पाएपछि किन मिटर जडानमा पैसा खर्चिनु ! सुगम गाँउमा हुकिङको यो हदमाथि विधुत प्राधिकरण शाखा लहानका कर्मचारीको नजर पुग्न सकेको छैन ।

औजार : आजको औजार दैनिकमा “चिया खेती विस्तार गर्दै गाउँपालिका” शीर्षकको समाचार छापिएको छ । चियाखेती विस्तार गरी दुर्गम ग्रामिण भेगका कृषकहरुको जिवनस्तर उकास्ने लक्ष्यका साथ भोजपुरको आमचोक गाउँपालिकाले गाउँस्तरमै चिया खेती विस्तार कार्यक्रम सुरु गरेको छ ।

सिंगो गाउँपालिकाको आर्थिक उन्नती र पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने उद्देश्यले गाउँपालिकाका करिब २ सय ५० रोपनी बढि सार्वजनिक जग्गामा गाउँपालिकाको बार्षिक कार्यक्रम अन्र्तगत नै चिया खेती विस्तार गरिएको हो ।
खेर गईरहेका सार्वजनिक खुला खर्क, चउरी डाँडाहरुमा चिया लगाएर व्यावसायिक रुपमा सिंगो गाउँपालिकालाई पर्यटन, रोजगारी र अर्थोपार्जन जस्ता क्षेत्रमा बहुआयामिक बनाउने तयारीका साथ खेती विस्तार गरिएको गाउँपालिकाले जनाएको छ । चियाका लागि उत्तम हावापानी भएकाले पनि चिया खेतीलाई प्रोत्साहन गरि अगाडी बढाउन सकेमा गाउँपालिकाभित्रै रोजगारी सिर्जना गर्न सकिने स्थानीय बालंखाका कृषक राजिन कुमार राई बताउँछन् ।