सुनसरी: सीमा क्षेत्रमा हुने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न चौबिसै घण्टा उच्च सतर्कता अपनाउने तथा संयुक्त गस्ती गर्नेलगायतको बिषयमा नेपाल र भारतका सुरक्षा अधिकारीहरुले सहमति गरेका छन् ।

आइतबार भारतको बीरपुरमा दुई देशका सुरक्षा अधिकारीबीच बसेको बैठकले यस्तो सहमति गरेको बताइएको छ । सीमा सुरक्षा बैठकमा मोरङ, सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरु सहभागी थिए भने भारतबाट पनि सीमावर्ती अररिया र सुपौल जिल्लाका डिएम, सुरक्षा प्रमुखहरु सहभागी थिए । यो बैठक भारतमा आगामी अप्रिलमा हुन लागेको चुनावको कारणले पनि बसेको थियो । दुवै देशका सुरक्षा निकायले सीमा क्षेत्रमा सुरक्षा कडा बनाउने र चौबिसै घण्टा उच्च सुरक्षा सर्तकता अपनाउनेछन् ।

सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले भारतमा हुन लागेको चुनावलाई लक्षित गरेर सीमा सुरक्षा कडा बनाउने र त्यसको लागि दुवै देशले संयुक्त गस्ती गर्ने सहमति भएको जानकारी दिए । यसको साथै, सीमा सुरक्षामा गम्भीर चुनौती बनेको मानव तस्करी, अवैध हतियार ओसारपसार, लागुऔषध, अवैध मदिराको कारोबार, चोरी तस्करी, अपहरणजस्ता जघन्य अपराधलाई पनि नियन्त्रण गर्ने बिषयमा बैठकले गम्भीरतापुर्वक छलफल गरेर समति गरेको एसपी अधिकारीको भनाई थियो । उनले भने,'मुख्य चुनौती रहेको सीमा क्षेत्रको मानव तस्करी, अवैध हातहतियार, लागुऔषधि ओसारपसार, तस्करी र अपहरण जस्ता जघन्य अपराधलाई रोक्न सीमा क्षेत्रको सुरक्षा थप मजदुत गर्ने सहमति भएको छ ।'

सुरक्षा अधिकारीहरुका अनुसार भारतले नेपाली भुमिबाट अन्तरराष्ट्रिय आतंकवादी प्रवेश गर्नसक्नेतर्फ चासो देखाएको थियो भने विहारमा प्रतिबन्ध लगाएको मदिरा नेपालबाट ओसारप्रसार बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न आग्रह गरेको थियो । नेपाली अधिकारीहरुले भने अवैधरुपमा हातहतियार, लागुपदार्थ, चौपाया तस्करी हुने गरेकोतर्फ भारतीय अधिकारीहरुको ध्यानाकर्षण गराएका थिए । 'अपराधिक घटनाहरुलाई नियन्त्रण गर्न, दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन हामीबीचमा सहमति भएको छ,'एसपी अधिकारीले भने ।