धरान: दुवै मृगौल फेल भएर उपचार गराईरहेका उसुका भोलेन्टियर प्रशिक्षक विकी राईलाई धरान उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

मृगौला प्रत्यारोपण गराउने तयारीमा रहेका पुर्वखेलाडी तथा भोलेन्टियर प्रशिक्षक राईलाई आर्थिक अभाव भएको कारण उपमहानगरपालिकाले सहयोग गरेको हो । उपमहानगरपालिकाअन्र्तगतको धरान नगर खेलकुद विकास समितिले सोमबार एक कार्यक्रम आयोजना गरेर राईलाई एक लाख रुपैया सहयोग प्रदान गरेको हो । उनलाई गत आर्थिक बर्षमा नै उपचारको लागि सहयोग गर्ने निर्णय भएको थियो । कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले उनलाई कार्यक्रममा नगद हस्तान्तरण गरिन् । खेलकुदमा जीवन समर्पित गरेका खेलाडीलाई स्वास्थ्यलाभको कामना गर्दै सहयोग गरिएको उनले बताइन् ।

आफ्नो युवा तथा उर्बर समय उसु खेलमा बिताएका राई पछिल्लो समय भोलेन्टियर(स्वयसेवी) प्रशिक्षक थिए । राखेपले भोलेन्टियर प्रशिक्षकहरुलाई तलब उपलब्ध गराउदैन । प्रतियोगिताहरु आयोजना हुदा रेफ्री बसिदिदा मात्र उनीहरुले भत्ता पाउछन् । आफ्नो युवा ,उर्बर समय खेलकुदमा समर्पित गरेका विकीले एक दशकभन्दा बढी समयदेखि उसुमा भोलेन्टियर(स्वयमसेवी) प्रशिक्षक भएर काम गरिरहेका थिए । राष्ट्रिय खेलकुद परिषदबाट एनआईएस कोर्षसमेत गरिसकेका उनले जागिर भने कहिल्यै पाउन सकेनन् । निःशुल्क प्रशिक्षण गराउदै आएका उनको अहिले दुवै मृगौला खराब भएपछि उपचारमा आर्थिक अभाव झेल्दै आइरहेका छन् । उनको परिवारले भारतमा मृगौला प्रत्यारोपण गराउन तयारी गरिरहेको छ । कम्तीमा पनि २५ लाख खर्च लाग्छ । वलियो आयस्रोत नभएका राईको परिवारजनले ऋणपान गरेर प्रत्यारोपणको तयारी गरीरहेको छ ।

पदक विजेताहरुलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार

IMG_1361

धरान उपमहानगरपालिकाअन्तर्गतको नगर खेलकुद विकास समितिले अन्तराष्ट्रिय कराते प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई नगदसहित प्रोत्साहन गरेको हो । समितिले सोमबार कार्यक्रम गरी भारतमा आयोजित विभिन्न कराते प्रतियोगिताहरुमा पदक जितेर धरान र नेपालकै गौरव बढाएको भन्दै प्रोत्साहन पुरस्कार प्रदान गरेको हो ।

नेपालको तर्फबाट भारतको असाम राज्यको गुहाटीमा २०१९ जनवरी १९ र २० तारिखमा भएको दक्षिण एशियाली कराँते च्याम्पियनसिपमा सहभागी धरानका खेलाडीहरुले सबैभन्दा बढी स्वर्ण पदक जितेर टिम च्याम्पियन बनेका थिए । सो प्रतियोगितामा नेपालले १९ स्वर्ण, ८ रजत र ४ काँस्य पदक जितेर टिम च्याम्पियन बनेको थियो । सो प्रतियोगितामा सहभागी खेलाडीहरु सबै धरानका थिए ।

IMG_1370

यस्तै, लखनाउमा आयोजित अन्तराष्ट्रिय करातेमा ७ स्वर्ण र २ रजत पदक जितेर नेपाल दोस्रो बनेको थियो । उक्त प्रतियोगितामा पनि अधिकांश धरानका खेलाडीहरु नै थिए । त्यसबाहेक बिशाखापटनममा २ स्वर्ण र मुम्बईमा पनि २ स्वर्ण पदक विजेता खेलाडीहरुलाई उपमहानगरपालिकाले प्रोत्साहन पुरस्कार दिएको हो । उपमहानगरपालिकाले एकमुष्टरुपमा प्रशिक्षक कुवेर राईलाई नगद ५० हजार प्रदान गरेको खेलकुद विकास समितिका अध्यक्ष सुवास राईले जानकारी दिए । धरानलाई खेलकुदको सहर बनाउनको लागि खेलाडीहरुको महत्वपूर्ण योगदान भएकोले कदर गदै प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिएको कार्यबाहक मेयर भण्डारीले बताइन् ।

प्रमोशन कपका विजेताहरुलाई पनि प्रोत्साहन पुरस्कार

गएको २१ औं बुढासुब्बा रेडबुल गोल्डकप अघि प्रचारप्रसार गर्न आयोजित बुढासुब्बा गोल्डकप प्रमोशन कपमा विजयी बनेको धरान उपमहानगरपालिकाको खेलाडीहरुलाई पनि जनही नगद ३ हजारसहित उपमहानगरअन्र्तगत खेलकुद समिति पुरस्कृत गरेको छ । समितिका अनुसार प्रथम पुरस्कार वापत पाएको ३० हजार रुपैयामा उपमहानगरले २५ हजार थपेर खेलाडी तथा प्रशिक्षकसमेतलाई जनही ३ हजारको दरले प्रोत्साहन पुरस्कार दिएको जनाएको छ । उपमहानगगरका खेलाडीहरुलाई कार्यवाहक प्रमुख मञ्जु भण्डारीले नगद प्रदान गरेकी थिइन् ।

आधारभुत विद्यालयहरुलाई खेल सामग्री

IMG_1364

खेलाडी उत्पादनको थलोको रुपमा लिइने विद्यालयहरुलाई नगर खेलकुद विकास समितिले खेल सामग्री पनि वितरण गरेको छ । समितिले धरान–२० स्थित सुलिकोट अधारभुत विद्यालय, धरान–१५ स्थित जनता आधारभुत विद्यालय र धरान–४ स्थित पञ्चकन्या आधारभुत विद्यालयका साना विद्यार्थीहरुलाई खेल सामग्री प्रदान गरेको हो । कार्यवाहक प्रमुख भण्डारीले ती विद्यालयका प्रअहरुलाई खेलकुद सामग्री प्रदान गरेकी थिइन् ।