ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “वनमा लाखौँ रुपैयाँ भ्रष्टाचार” शीर्षकको समाचार छापिएको छ । उत्तर–पूर्वी मोरङको मिक्लाजुङ गाउँपालिका ६ स्थित मिक्लुक सामुदायिक सामुदायिक वन उपभोक्ता समितिमा आर्थिक अनियमितता भएपछि स्थानीय आक्रोसित बनेका छन् । आन्तरिक छानविन समितिको प्रतिवेदनमा आर्थिक अनियमितता गरेको पाइएपछि स्थानीय उपभोक्ता आक्रोसित बनेका हुन् । १० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको छानविन प्रतिवेदनमा उल्लेख छ । समितिमा अनियमितता भएको भन्दै स्थानीय २ सय ५४ उपभोक्ताको हस्ताक्षरसहितको उजुरी गाउँपालिकामा परेपछि गाउँपालिकाले डिभिजन वन कार्यालयमा छानविनको लागि पठाएको थियो । जिल्ला वन कार्यालय मोरङले उर्लाबारी मङ्गलबारे सब डिभिजन प्रमुख तारिणीप्रसाद चौधरीको संयोजकत्वमा तीन सदस्यीय छानवीन समिति बनाएको थियो । वन कार्यालयले पुनः सम्बन्धित वडामार्फत आन्तरिक छानवीन समिति बनाउने भनेपछि प्रकाश गौतमको नेतृत्वमा आन्तरिक छानविन समिति बनाएको थियो ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “पोखरी ठेक्का लगाउँदा झडप” शीर्षकको समाचार पनि छापिएको छ । सिरहाको सुखीपुर नगरपालिकाले स्थानीयसंगको समन्वय नगरी पोखरी ठेक्का लगाएपछि उत्पन्न विवादले हिंसात्मक रुप लिएको छ । विवादका क्रममा झडप हुँदा एक दर्जन बढी घाइते बनेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । नगरपालिकाले निजी पोखरी ठेक्का दिएको भन्दै पोखरी धनी र ठेक्का प्राप्त गर्ने पक्षबीच शनिबार झडप भएको हो । नगरपालिकाले पोखरी सरकारी रहेको दाबी गर्छ भने स्थानीय छठु मण्डलले पोखरी आफ्नो भएको दावी गरेका छन् । सुखीपुर २ स्थित विद्यानगरको सिकिया पोखरी ठेक्का लागएपछि हिंसात्मक रुप लिएको हो । घाइतेहरुलाई उपचारका लागि विराटनगर र धरान पठाइएको छ । पोखरीको क्षेत्रफल १२ कठ्ठा १६ धर रहेको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “नक्कली नागरिकता बनाएको अभियोगमा पक्राउ” शीर्षकको समाचार छापिएको छ । भारतीय नागरिकलाई आफ्नो छोरा भनेर नेपाली नागरिकता बनाइ दिएको आरोपमा प्रहरीले सप्तरी छिन्नमस्ता गाउँपालिका ६ का उत्तमलाल साह तेलीलाई पक्राउ गरेको छ । शाहले आफ्नो ज्वाईलाई जेठा छोरा भनेर नेपाली नागरिकता बनाएको भन्दै स्थानीयले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । साहका ज्वाई भारत विहार राज्य मधुवनी जिल्लाको अन्धरामठ थाना अन्तर्गत पर्ने नरेन्द्र पञ्चायतका बासिन्दा रहेको आरोप छ । २०६३ माघ १४ गत्ते बंशजको आधारमा निजको नागरिकता जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जारी गरिएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “संसदका नियमावली झिकाइदै” शीर्षकको समाचार छापिएको छ । प्रदेशको स्थायी राजधानी र नाम तोक्नेसहितको विषयमा विद्यमान प्रदेशसभा नियमावलीमा स्पष्ट व्यवस्था नभएको भन्दै नियमावली संशोधनका लागि बनाइएको समितिले अन्य प्रदेश र संघिय संसदको नियमावली झिकाएको छ । संविधानले प्रदेशको स्थायी राजधानी र नामाकरण गर्ने अभिभारा प्रदेशसभालाई सुम्पिएको छ । तर १ नं. प्रदेशको प्रदेशसभा नियमावलीले नाम र राजधानी तोक्ने प्रक्रियामा प्रवेश गर्न बाटो बन्द गरेको भन्दै माघ २९ गत्ते बसेको प्रदेशसभा वैठकले नियमावली नै संशोधन गर्न सात सदस्यिय समिति निर्माण गरेको छ । नेकपाका सांसद एवं नियमावली संशोधन मस्यौदा समितिका संयोजक तुलशीप्रसाद न्यौपानेको अध्यक्षतामा सोमबार बसेको समितिको वैठकले प्रदेशसभामा राजधानी र नामाकरणको विषयलाई प्रवेश गराउने प्रक्रियाबारे अध्ययन गर्न ६ वटै प्रदेशको प्रदेशसभा, संघीय संसदको प्रतिनीधीसभा र राष्ट्रियसभाको समेत नियमावली झिकाइएको जानकारी दिए ।

औजार : आजको औजार दैनकमा “धरानमा भेटिए २६ महिनाअघि हेटौडादेखि हराएका स्याङ्तान” शीर्षकको समाचार छापिएको छ । करिब २६ महिना अघिदेखि हराइरहेका हेटौडाका स्याङ्तान धरानमा भेटिएका छन् । बगिया गाउँपालिका वडा नं. ७ दरबार डाडा घर भएका ५३ वर्षीय दमासिंह स्याङतान विरामी परेपछि घर फर्केका थिए । उनलाई साथिहरुले काठमाण्डौबाट नाइट ब’ चढाएर घर पठाएका थिए । हेटौडा झर्नुपर्ने उनी बसमा भेडेटारसम्म आएको अनुमान गरिएको छ । त्यसबेला स्याङतानको मानसिक अवस्था ठिक नभएको पनि उनलाई धरान ४ मा आश्रय दिएर राखेका हरिमान राईले बताए ।