धरान:दोस्रो नेपाल च्याम्पियन शारीरिक सुगठन प्रतियोगिताको तयारी पुरा भएको आयोजक एलाइनेट जिमले जानकारी दिएको छ ।

मंगलबार होटल सन्ध्या इनमा पत्रकार सम्मेलन गर्दै आयोजकले यही फागुन १० र ११ गते आयोजना हुने प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी दिएको हो । धरान ८ स्थित सभागृहमा हुने प्रतियोगिताअघि दुई दिने जजेज कार्यशाला पनि हुने अध्यक्ष बिक्रम लिम्बूले जानकारी दिए । उनका अनुसार राष्ट्रिय जजेज कार्यशाला फागुन ८ र ९ गते हुनेछ । प्रतियोगिताको ओभरअल राउण्ड विजेताले नगद डेढ लाख रुपैया पाउनेछ । यस्तै, द्धितिय खेलाडीले ५० हजार, तृतीयले ४० हजार, चौथो हुनेले ३० हजार र पाँचौ स्थान हुने खेलाडीले नगद २५ हजार पाउनेछन् ।

यसैगरि, वेष्ट पोजर, मस्कुलर मेन, मोस्ट इम्प्रुभ र वेष्ट टिम घोषित खेलाडी तथा टिमले पनि नगद ५ हजार पुरस्कार पाउछन् । प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ वजन समुहबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन एक वजन समुहबाट ६ जनाको दरले फाइनल(भोलीपल्ट)को लागि ३० जना खेलाडी छनौट गरिनेछ । फाइनलमा प्रत्येक वजन समुहका प्रथम हुने खेलाडीले मात्र उपाधिको लागि ओभर अल राउण्डमा प्रतिस्पर्धा गर्ने मौका पाउनेछन् ।

IMG_1389

शारीरिक सुगठन खेलको विकास गर्न तथा प्रतिभाशाली खेलाडीहरुको उत्पादन र अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको एलाइनेटका अध्यक्ष लिम्बूको भनाई छ । तर, इन्डोर खेल भएकोले प्रायोजकहरु भनेजस्तो नपाउदा शारीरिक सुगठनका प्रतियोगिताहरु आयोजना गर्न निक्कै समस्या भइरहेको पनि उनले बताए । प्रतियोगितामा सुनसरी, मोरङ, झापा, राजविराज, बुटबल, पाल्पा, कास्की, भैरहवा, बागमतिबाट पनि खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा कुल ११ लाख ९० हजार खर्च हुने आयोजकको अनुमान छ । यो खर्च धरान उपमहानगरपालिका, धरान सिंघक समाज हङकङ, धरान पाङमा समाज, प्रायोजक र आयोजक आफैबाट संकलन हुनेछ । आयोजकलाई ओसियन पार्क इटहरीले १ सय २५ थान टिसर्ट उपलब्ध गराएको छ भने आयोजकले मंगलबार नै पत्रकारहरुको लागि प्रेस ज्याकेट पनि सहयोग गरेको छ । प्रतियोगिताको दिन सभागृह प्रवेश निःशुल्क रहनेछ ।