धरान: प्रदेश १ स्तरीय तेस्रो पुष्प व्यापार मेलाको आयोजनाको क्रममा धरानमा फुलले सिंगारिएको घर मात्र होइन, टोल र वडा पनि छनौट गरेर पुरस्कृत गरिएको छ ।

मेला आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपालले एक विज्ञ टोली बनाएर धरानको घर, टोल र वडाको स्थलगत अवलोकन गरी उत्कृष्टलाई पुरस्कृत गरेको हो । सर्वसाधारणहरुमा फुलप्रति रुचि जगाउन तथा आफ्नो घर, टोल र वडालाई नै फुलले सिर्गान एवं वातावरणमैत्री बनाउन प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले पुरस्कृत गरिएको पुष्प मेलाका संयोजक प्रेमप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार एशोसिएशनले एक विज्ञ टोली बनाएर केही दिन अघिदेखि नै धरानको वडा, टोल र घरहरुको अवलोकनमा खटाएको थियो ।

IMG_1402

टोलीको निर्णय अनुसार धरानको वडा नं ८ वेष्ट फ्लावर वार्डकोरुपमा पुरस्कृत भएको छ भने वडा नं १० को कलेज रोड वेष्ट फ्लावर टोलकोरुपमा पुरस्कृत भएको छ । यस्तै, धरान १६ स्वामी चोककी कोपिला देवानको घर वेष्ट फ्लावर एरेञ्ज हाउसकोरुपमा पुरस्कृत भएको छ ।

यसैगरी पुष्प मेलाका सहभागी नर्सरीहरुबीचमा पनि प्रतिस्पर्धा गराइएको थियो । जसमा दमकको महादेव नर्सरी प्रथम भएको छ भने न्यु रितु नर्सरी तरहरा दोस्रो र अफ्रिक भ्वाइलेट नर्सरी धरान १९ तेस्रो भएको छ । वेष्ट फ्लावर एरेञ्जमेन्टतर्फ एञ्जेलिना नर्सरी पुरस्कृत भयो भने वेष्ट अर्नामेन्ट प्लान्टमा क्यामेलिया नर्सरी र वेष्ट सिजनल प्लान्टतर्फ पत्रिव नर्सरी पुरस्कृत भएको छ । पुरस्कृत घर, टोल, वडा र नर्सरी व्यावसायीहरुलाई उद्घाटन समारोहका प्रमुख अतिथि एवं उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगशीद कुसियैत, धरान उपमहानगरकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले ट्रफी, प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

IMG_1410 IMG_1403