ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “युवाको सक्रियतामा गाउँ झलमल्ल” शीर्षकको समाचार छापिएको छ । उदयपुरको कर्णाली भनेर चिनिएको लिम्चुङबुङबासीलाई युवाहरुले विधुत उत्पादन गरी गाउँलाई झलमल्ल बनाएका छन् । लिम्चुङबुङ गाउँपालिका वडा नं. १ को राजीमा खोलाबाट तीन किलोवाट क्षमताको विधुत उत्पादन गरी युवाहरुले गाउँमा बत्ती बालेका हुन् । जिल्लाकै विकट गाउँको राजीमा खोलाको रुप्ला छहराबाट पेल्ट्रीकसेट जडान गरी तीनहजार वाटको विधुत उत्पादन गरीएको स्थानीय बताउँछन् । स्थानीय युवा सिमसन राईको सक्रियतामा सागर राई, अनिल राई, नयन राई, सुमन राई, रमन राई र भुवन राईको सहयोगमा सामग्री खरिद, ढुवानी र जडान गरी विधुत उत्पादन गरी रातमाटे र वरबोटे गाउँका ५ घरमा बत्ती बाल्न सफल भएको सिमसन राईले बताए ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “वाइडबडी प्रकरणमा संलग्नलाई कारबाही नगरे अख्तियार समाप्त हुन्छ” शीर्षकको अर्को समाचार पनि छापिएको छ । प्रतिनिधिसभा सदस्य सांसद सुदन किरातीले साढे चार अर्ब भ्रष्टचार भएको वाइडबडी जहाज प्रकरणका दोषीलाई कारबाही नगरे अख्तियारको इतिहास समाप्त हुने बताएका छन् । भोजपुरको अरुण गाउँपालिका २ चम्पेस्थित चम्पे मावि चम्पेको ७० औँ वार्षिक उत्सवलाई मङ्गलबार सम्बोधन गर्दै सांसद किरातीले यस्तो बताएका हुन् । कार्यक्रममा उनले राष्ट्रको सबैभन्दा ठुलो चुनौती र शत्रु भ्रष्टचार भएको अल्लेख गर्दै वाइडबडी प्रकरणको निष्पक्षरुपमा छानविन गनुपर्नेमा उनले जोड दिए ।

नागरिक पूर्वेली : आजको आगरिक पूर्वेली दैनिकमा “विद्यालयमा नर्स नियुक्त हुने” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले ताप्लेजुङसहित प्रदेशभरीका एक–एक सामुदायिक विद्यालयहरुमा नर्स नियुक्ति गर्ने भएको छ । हरेक जिल्लाका एक सामुदायिक विद्यालय समेट्ने गरी यस्तो नियुक्ति गर्न लागिएको हो । चालु आर्थिक वर्ष २०७५÷७६ का लागि स्वीकृत भएको ‘विद्यालय नर्सिङ कार्यक्रम’ का लागि सामाजिक विकास मन्त्रालयले नर्स भर्नाको आवेदन मागेको हो । १४ जिल्लाका १४ सामुदायिक विद्यालयका लागि नर्स नियुक्ति गर्न सोमबारबाट भर्ना खुला गरिएको मन्त्रालयका सामाजिक नर्सिङ साखा प्रमुख केसु काफ्लेले जानकारी दिइन् । यस अन्तर्गत ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाको केन्द्रमा रहेको थेचम्बु मावि परेको छ ।

त्यसैगरी आजको नागरिक पूर्वेली दैनिकमा “जिससमा ८ करोड जाम” शीर्षकको अर्को समाचार पनि छापिएको छ । स्थानीय तह पुनः संरचनापछि जिल्ला समन्वय समितिमा परिणत हुँदै अधिकार विहिन बन्न पुगेको तत्कालिन जिल्ला विकास समिति उदयपुरमा करिब ८ करोड रकम जम्मा भएर बसेको छ । जिल्ला समन्पय समितिमा परिणत भययता डेढवर्ष बढी बितिसक्दासम्म तत्कालिन जिविसको करिब दर्जन निस्क्रिय खातामा मौज्दात ७ करोड ६० लाख ५ हजार ७ सय १४ रुपैँया जम्मा हुन पुगेको हो । निमित्त जिल्ला समन्वय अधिकारी राजकुमार खड्काका अनुसार तत्कालिन जिविसको नाममा रहेका विभिन्न बैंकका १० वटा खाता निस्क्रिय रहेको र तिनमा उक्त रकम मौज्दात रहेको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “नागरिकताका लागि आन्दोलन गर्ने चेतावनी” शीर्षकको समाचार छापिएको छ । जनसिद्ध नागरिकता प्राप्त गरेकाको सन्तानले नागरिकताको लागि आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले नागरिकता नभएकाको उच्च शिक्षा प्राप्त गर्न र रोजगारीको अवसरबाट वञ्चित भएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् । मंगलबार विराटनगरमा उनीहरुले पत्रकार सम्मेलन गरेर वैशाखदेखि कडा आन्दोलन गर्ने चेतावनी दिए । उनीहरु संगठित भई नागरिकता पीडित संघर्ष समिति गठन गरेर आन्दोलनको तयारी गरेका छन् । चैत ३१ गत्तेसम्म नागरिकता दिन सुरु नगरे सरकार विरुद्ध कडा आन्दोलन गर्ने संघर्ष समितिका अधयक्ष इसान खानले बताए ।