धरान : विहीबारदेखि शुरु हुने १७ औं आहा रारा गोल्डकप प्रतियोगितामा भाग लिनको लागि धरान फुटबल क्लव आज बुधबार पोखरा प्रस्थान गरेको छ ।

टिम मेनेजर अर्जुन राई र प्रशिक्षक सागर घिमिरेसहित १७ जनाको टोली आज बुधबार पोखरा प्रस्थान गरेको हो । खेलाडीहरुलाई कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदी र एन्फाका मानार्थ उपाध्यक्ष एबंम क्लवका अध्यक्ष किशोर राईले विदाई गरेको हो । खेलाडीहरुलाई फुलमाला लगाएर विदाई गरिएको थियो । धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदीले खेलाडीहरुलाई जितेर आउन शुुभकामना दिइन् ।

त्यसैगरी, क्लवका अध्यक्ष किशोर राईले आफ्नो खेलाडीहरुले जितेर आउनेमा विश्वास व्यक्त गरे । टिममा गोलकिपर विनय श्रेष्ठ, विष्णु सुनवार, बर्तमान राई, दोर्जे तामाङ, योगेश राईलगायतका नाम चलेका खेलाडीहरु रहेको प्रशिक्षक सागर घिमिरेले बताए । आउदो शुक्रबार ए डिभिजन क्लव हिमालयन शेर्पा र धरान फुटबल क्लवको सेमिफानलको लागि प्रतिस्पर्धा हुदैछ । गत वर्षपनि धरान सेमिफाइनलबाट बाहिरिएको थियो । तर, यसपटक उपाधि हात पार्ने तयारीका साथ प्रस्थान गर्न लागेको प्रशिक्षक घिमिरेले बताए । ‘गत वर्ष पनि हामीले सेमिफानलसम्म पुगेका थियौं, यसपटक जित्ने तयारीका साथ जादैछौं’ उनले भने । क्लवका ३ खेलाडीहरु अन्य क्लवमा गएकाले राम्रो टिम बनाउनको लागि बाहिरको खेलाडी सहभागी गराउने सोचमा रहेको समेत उनले बताए ।

‘धरान फुटबल क्लव भनेको खेलाडी उत्पादन गर्ने क्लव हो, मिलन राई र मनोज राई पुलिस क्लवबाट खेल्न गएका छन्, अनि हेमन्त थापामगर च्यासल क्लवबाट खेल्न गएका छन्’ उनले भने ‘त्यसैले राम्रो टिम बनाउनको लागि २–३ जना बाहिरबाट ल्याउने तयारीमा छौं’ ।