बिर्तामोड :  इलामको माइपोखरीमा आन्तरिक तथा वाह्य पर्यटकका लक्षित गरी ब्यवस्थित ९ वटा होम स्टे सञ्चालनमा आएका छन ।

सन्दकपुर गाउँपालिका वडा नं. ३ मा पर्ने कुनै कुनाले सजिएको सुन्दर माइपोखरी एक पोखरी मात्र होइन यो एक धार्मिक क्षेत्रका रुपमा समेत चिनिने गरिन्छ । यो माइपोखरीको पानी सफा भएको हुँदा वाहिर रहेका वोट विरुवाको छायाँ पानीमा प्रष्ट देख्न सकिन्छ भने छिन छिनमा कुहिरो लाग्ने र छिनमै हट्ने हुँदा मनमोहक दृश्यावलोकन ले जोकोहिको मन लोभ्याउने छ । माइपोखरी विश्व सम्पदा सुची ( रामसार ) क्षेत्रमा सुचिकृत भइसकेको छ । नेपाल सरकारले पनि माइ पोखरीको विकास, संरक्षण र संवर्धनका लागि गतिविधिहरु सञ्चालन गरिरहेको छ । माइपोखरी करिडोर क्षेत्र भित्र अर्किट नर्सरी ब्यवस्थापन साथै विभिन्न लोपोन्मुख वनस्पतीहरुको नर्सरी तयार गर्न पनि विभिन्न स्थानमा कायक्रम सञ्चालनमा रहेको छ ।

mai-2-Photo

माइपोखरी क्षेत्रमा विशेष गरेर गलैँचे झ्याउ, चाँप, गुँरास, चिमाल, जडिवुटी, ठकठके, काँडेभ्याकुर लगायतका लोपोन्मुख वनस्पती तथा जिवजन्तु पाइन्छ । यस क्षेत्रका नागरिकहरु कृषि पेशामा आधारीत छन भने ९ घर परिवारका नागरिकहरु भने माइ पोखरी देखि १.५ किलोमिटर उत्तर पश्चिम देउराली बजार आसपासका ९ घरमा होम स्टे सञ्चालनमा ल्याएर पाहुनाको स्वागत सँगै खान, बस्नको ब्यवस्थित प्रवन्ध मिलाएर मनग्गे आम्दानि गरिरहेका छन । सुन्दर देउराली वजार, चिसो चिसो मौसम फायर क्याम्पियन सँगै मकै भटमास, गुन्द्रुक र सेल रोटीले स्वागत गरेको आतिथ्यता साँच्चै लोभै लाग्दो छ । पुरानै घरलाई सजिसजाउ गरेर पाहुना कोठालाई ब्यवस्थीत गर्दै घर वरपर बाह्रैमास फुलिरहने फुलवारी निर्माण गरी आकर्षक होमस्टे सञ्चालनमा ल्याएका स्थानियहरुलाई स्थानिय गाउँपालिकाले भने कुनै पनि सहयोग नगरेको स्थानिय वताउछन । होमस्टे अर्थात घरवास भन्नाले पारिवारीक वातावरणमा त्यहि क्षेत्रको रहनसहन र सँस्कृतीमा रमाउदै खाना र वासको प्रवन्ध मिलाइने एक ब्यवसाय हो । जहा स्थानियस्तरमा पाइने खाने कुराहरु पकाएर खुवाइने गरिन्छ ।

mai-photo

स्थानिय खाना सँगै न्यानो आथित्यता प्रदान गरिरहेका ९ घरमा अहिले पाहुना विनाको खाना पाक्दैन । माइपोखरी, देउराली सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको यस क्षेत्रमा ३१ प्रजातिका गुँरासहरु पनी पाइन्छन । त्यसै गरी टोड्के भरना पनि यस क्षेत्रको एक महत्वपुर्ण प्राकृतिक सम्पदाको रुपमा परिचित छ । देउराली बजार, वजारको समिपमा रहेको सात खाल्डे, मासकटेरी, चमेरे गुफा लगायतका प्राकृतिक दृश्यावलोकन पश्चात यहि वाटो गरेर सन्दकपुर जान सकिने भएकाले पनि यो क्षेत्र पर्यटनका दृष्टिले महत्वपुर्ण रहेको छ ।
यस क्षेत्रमा भएको सात खाल्डे त्यतिकै महत्वपुर्ण छ २०१८ सालमा नेपाली कंग्रेसका ७ जना कार्यकर्तालाई तत्कालिन शाहि नेपाली सेनाहरुले खाल्डो खन्न लगाई खाल्डो भित्र पस्न लगाइ गोली हानेर निर्मम हत्या गरेको ठाउँ जसलाई सात खाल्डे भनेर नामाकरण गरीएको छ सो क्षेत्र पनि यहाँको ऐतिहासिक क्षेत्रका रुपमा परिचित छ ।