धरान : धरानमा जारी प्रदेश १ स्तरीय पुष्प व्यापार तथा प्रदर्शनी मेलामा दोस्रो दिनसम्ममा १२ लाखको कारोबार भएको छ ।

धरान १२ अमान बजारमा फ्लोरिकल्चर एसोसिएसन नेपाल सुनसरीको आयोजनामा मंगलबारदेखि सुरु भएको ५ दिने मेलामा पहिलो दिन ५ लाख र दोस्रो दिन ७ लाखको कारोबार भएको मेला संयोजक प्रेम प्रसाद पराजुलीले बताए । ‘हिजो उद्घाटनको दिन ५ लाखको कारोबार भयो, आज बुधबार दोस्रो दिन ७ लाखको कारोबार भएको छ’ पराजुलीले भन, ‘निकै उत्सापूर्ण कारोबार भइरहेको छ ।’
मेलामा करिब दिउसो १२ बजेदेखि नै भिड लाग्ने गरेको उनको भनाई छ । मेलामा ४ सय भन्दा बढी प्रजातीका फुलहरु, बोट विरुवाहरु विक्री तथा प्रदर्शनीमा राखिएको छ । जसको मुल्य ३० रुपैयाँदेखि ३० हजारसम्म रहेको छ । मेलामा ५ सयदेखि १५ सय मुल्यका फुलहरु बढी विक्री भइरहेको उनले बताए । ‘मौसमी फुल बाहेक अन्य फुलहरु ५ सयदेखि १५ सय मुल्यको बढी विक्री भइरहेको छ’ उनले भने ।
मेला अवधिभर ७० लाख रुपैयाँसम्मको कारोबार गर्ने आयोजकको अनुमान छ । मेलाको उद्घाटन प्रदेश १ का उद्योग, पर्यटन, बन तथा वातावरणमन्त्री जगदिश प्रसाद कुसियले गरेका थिए ।