इटहरी : मोरङको गछियास्थित तेस्रो सुन्दरहरैँचा एक्स्पोमा स्थानीय तथा बाह्य अवलोकनकर्ताको संख्यामा वृद्धि भएको आयोजक सुन्दरदुलारी उद्योग बाणिज्य संघका अध्यक्ष तथा कार्यक्रम संयोजक किशोर कार्कीले बताएका छन् ।

उनका अनुसार एक्स्पोको उद्धघाटनको पाँचौ दिनसम्म आइपुग्दा हजारौँ अवलोकनकर्ताले अनुगमन गरिसकेका छन् । ‘दैनिक छ देखि सात हजार बढी स्थानीय तथा बाह्य अवलोकनकर्ताहरु अनुगमनका लागि आउने गरेका छन् । कार्कीले भने, ‘कृषि, औद्योगिक, खाद्य, कपडा, अटो सम्बन्धीका स्टल साथै मार्सी चामलको अनुगमन गरि खरीद गर्नेहरु बढिरहेका छन् ।’ अहिलेसम्म दुईवटा ट्याक्टर पनि बिक्री भइसकेको छ । एक सय ८५ वटा स्टल रहेको एक्स्पोमा मार्सी चामलले पनि दर्शकको संख्यामा वृद्धि भएको कार्कीको भनाई छ ।
महिला उद्यमीहरुले आँफैले बुनेको कोट, अचार, ग्रिन टि, मह साथै अन्य स्टलहरु अवलोकनकर्ताकले रुचाएका छन् । फागुन १२ गतेसम्म संञ्चालन हुने एक्स्पोमा दैनिक लोकप्रिय राष्ट्रिय कलाकारको प्रस्तूती रहँदै आएको छ । ‘एक्स्पोमा अष्ट्रिज, उट, इमो लगायतका सामानले पनि दर्शकको संख्या बढेको छ’ कार्कीले भने, ‘अहिलेसम्म झापा, मोरङ र सुनसरीका अवलोकनकर्ताहरु आएका छन्, सोचेभन्दा राम्रो मात्रामा एक्स्पो कारोबार बढेको छ ।’

उनका अनुसार हेलीकप्टरको माध्यमबाट ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन गर्नका लागि ३२ हजार र स्थानीय सिटि टुरका लागि ५ हजार रुपैँया लागत राखिएको छ । पाथीभराको दर्शनका लागि अहिलेसम्म एक सिफ्ट पर्यटक गएको बताउँदै उनले हेलीको माध्यमबाट पनि पर्यटकको आकर्षण बढेको बताए । अन्य महोत्सव भन्दा टिकट दर समेत सस्तो मात्रामा बिक्री गर्दै आएकाले पनि अवलोकनकर्ताको संख्या बढेको छ । टिकट दर ५० रुपैँया रहेकाले अवलोकनकर्ताको संख्या बढेको हो । सुनसरीको चतराबाट एक्स्पोमा आएका भैरब खतिवडाले यहाँ जुम्लाको मार्सी चामल, महिलाहरुले बनाएको कोट साथै अन्य खानाका परिकारदेखि लिएर आफूँले खोजेका सबै सामान एकै छानामुनी पाउनु सुखद् रहेको बताए । उनले भने, ‘चतराबाट यहाँ आउदा आफूले खोजेको सबै सामान पाइने रहेछ, यो एकदमै सुखद् हो ।’ उनका अनुसार स्थानीय ठाउँमा पनि एक्स्पो आयोजना हुनु र यसले सफलता पाउनु आवश्यक रहेको छ । ‘स्थानीय ठाउँमा ठूला–ठूला महोत्सवको आयोजना नै हुँदैनन्, भएपनि सफलता पाउँन गाह्रो हुन्छ, यहाँ राम्रो रहेछ’ –उनले प्रशंशा गर्दै भने ।