ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “कन्सल्टेन्सी बन्द गर्न माग” शीर्षकको समाचार छापिएको छ । नेपालका कन्सल्टेन्सीले अष्ट्रेलियामा विनादर्ता सञ्चालीत कलेजहरुमा विद्यार्थी पठाएर ठगी गरेको भन्दै अखिल ( क्रान्तिकारी ) झापाले त्यस्ता कन्सल्टेन्सी बन्द गर्न माग गरेको छ । झापामा रहेका कन्सल्टेन्सीले अष्ट्रेलियाको अष्ट्रेलियन इन्स्टीच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआइविटी) मा विद्यार्थी पठाउदैँ आएको पाइएको छ । एआइविटी बिना दर्ता सञ्चालनमा रहेको विद्यार्थी नेताको भनाई छ । एआईविटीले स्नातकका लागि तीनवर्ष अध्ययन गर्नुपर्ने दुईवर्ष मात्र पढ्नुपर्ने, एक वर्ष छुट हुने बताएपछि डेढ वर्षदेखि अध्ययन गरिरहेका विद्यार्थीहरु अन्यौलमा परेका हुन् । रजिष्टर्ड ट्रेनीङ अर्गनाइजेशन (आरटीओ) मा उनीहरुले अध्ययन गर्दै गरेको दर्ता नभएका कारण विद्यार्थी बिचल्लीमा परेका हुन् । अर्बिट, एक्सपर्ट, डल्फिन, मर्सी, अल्फाविटा, काठमाण्डौँ इन्फोसिस, वेव, कङ्गारु एजुकेशन एण्ड माइग्रेशन, फाउण्डेस सर्भिस, सनराइज, एविसी माइग्रेसन एण्ड एजुकेशन, प्रोसेसलगायत कन्सल्टेन्सीबाट उच्चशिक्षाका लागि नेपाली विद्यार्थीहरु अष्ट्रेलिया गएका थिए । कन्सल्टेन्सीले विनादर्ता सञ्चालित कलेजमा विद्यार्थी पठाएको अखिल (क्रान्तिकारी) का अध्यक्ष अनिल सुवेदीले जानकारी दिए ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “भाइसंगको रिसइबीले दाइमाथि छुरा प्रहार” शीर्षक अर्को समाचार पनि छापिएको छ । भाइसंग भएको रिसइबी साँध्न मोरङको बुढीगंगा गाउँपालिकामा तीनजना युवाले सोही ठाउँका एक जनामाथि छुरी प्रहार गरेका छन् । बुढीगङ्गा गाउँपालिका २ का २३ वर्षीय जीवन कामतलाई सोही ठाउँका १८ वर्षीय मौसम राई, सुवास नेपाली र सविन राउतले छुरी प्रहार गरेका हुन् । छुरी प्रहारबाट कामत गम्भिर घाइते भएको मोरङ प्रहरीले जनाएको छ । उनको उपचार विराटनगरस्थित नोवेल मेडिकल कलेजमा भइरहेको छ । प्रहरीले छुरी प्रहार गर्ने तीनैजनालाई पक्राउ गरी बुधबार जिल्ला अदालत मोरङमा ज्यन मार्ने उधोगमा म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । ‘जीवनको भाइसंग सामान्य विवाद हुदा दाइमाथि तीनजनाले छुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’ डिएसपी श्रेष्ठले भने, ‘जीवनका भाइसंय तीनजना युवाको विवाद भएको रहेछ ।’

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “जिम्मेवार बन्दै जनप्रतिनिधि” शीर्षकको समाचार छापिएको छ । झापाको गौरादह नगरपालिकाले अघिल्लो वर्षको बजेट घाटाको बनायो । प्रशासनिक जानकारी नहुँदा जनप्रतिनिधिले घाटा बजेट बनाए । त्यसबेला कर्मचारीले झुक्याएको जनप्रतिनिधि बताउँछन् । तर यस पटक पनि घाटा बजेट नै बनाइएको छ । कानुनले कर उठाउने र खर्च गर्न सक्ने अख्तियारी स्थानीय सरकारलाई दिएसंगै जनप्रतिनिधिले त्यसको खर्च गर्ने तरिका जानेनन् । गौरादह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर मिश्रले जनप्रतिनिधिले कानुन अनुसार भएका कतिपय विषय बुझ्नै नसकेको बताए ।

त्यसैगरी आजको नागरिक पूर्वेली दैनिकमा “बाँदर समात्न पासो” शीर्षक अर्कोे समाचार पनि छापिएको छ । जिल्लामा बाँदरले अत्याधिक दुःख दिन थालेपछि स्थानीय तहले नियन्त्रणको प्रयास थालेको छ । बाँदरले जनतालाई दुःख दिदा आजित भएका जनता पनि बाँदर नियन्त्रण हुने अपेक्षामा छन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा बाँदर थुन्नलाई खोरहरु बनाउन थालिएको छ । बाँदरले बाली खाएर कृषकलाई दुःख दिएपछि भोजपुरमा बाँदर नियन्त्रणका लागि गाउँलेले नयाँ प्रविधि अपनाएका छन् । बाँसको भाटा तथा चोयाको प्रयषेग गरी बाँदर थुन्न पासो बनाएका छन् । स्थानीय सामग्रीको प्रयोग गरेर बनाइने यो प्रविधि कम खर्चिलो हुनाले प्रभावकारी भएको स्थानीय अगुवा युवा सन्दीप राईले बताए । पासोमा वरीपरीबाट बाँसको भाटाको बार लगाएर माथिबाट बाँसकै छानो लगाइन्छ । माथिबाट छेकिएको छानाको मध्य भागतिरबाट ढडिया बनाई छिर्ने ठाउँ राखिने र मकै तथा अन्य खानेकुराहरु खोरभित्र राखेपछि खानका लागि खोरमा पसेको बाँदर बाहिर निस्कन सक्दैँन ।

औजार : आजको औजार दैनिकमा “जन्मदै मलद्वार नभएको बालकको उपचारमा समस्या” शीर्षकको समाचार छापिएको छ । जन्मदै मलद्वार नभएका पाचँथर याङ्वरक गाउँपालिका वडा नं. ३ का सात महिने बालक उज्वल योङहाङको उपचारको लागि आर्थिक समस्या भएको छ । सात महिने बालक उज्वलको जन्मजात मलद्वार नभएपछि समस्या भएको हो । जन्मजात नै मलद्वार नरहेको उनका पिता टेकेन्द्र योङहाङले बताएका छन् । हाल बालकको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सर्जरी वार्डमा उपचार भइरहेको छ । मलद्धार नभएपछि उनको दिशालाई विसर्जन गर्न समस्या परेको हो । अहिले उनको पेटको छेउमा चिरेर दिशा विसर्जन गर्ने ठाउँ बनाइएको छ र पछिल्लो समयमा अर्को ठाउँमा प्वाल बनाएर पनि दिशा विसर्जन गर्ने ठाउँ बनाइ दिशालाई विसर्जन गराइरहेका छन् । बालकको उपचारमा हालसम्म तीन लाख भन्दा बढी खर्च भएको उनका पिताले बताए । पिता टेकेन्द्र वैदेसिक रोजगारीमा रहेका थिए । विदेशमा परिश्रम गरेर आफ्नो परिवारको लालन पालन गरीरहेका उनी अहिले घर फकिए पछि हातमुख जोड्न नै समस्या भईरहेको बेलामा छोराको उपचार गर्नुपर्ने भएपछि उनी समस्यामा परेका हुन् । उनी भन्छन् छोराको उपचारमा हिड्नुपर्ने भएकोले विदेश जान समेत पाएको छैन भने अलि अलि भएको पैसा समेत सकिसक्यो । बालकको उपचारका लागी ३ लाख भन्दा बढी लाग्ने उनका पिताले बताए ।