धरान : दोस्रो नेपाल च्याम्पियन खुल्ला राष्ट्रियव्यापी शारीरिक सुगठन प्रतियोगिता आज शुक्रबारदेखि धरानमा शुरु भएको छ । पहिलो दिन प्रि–जर्जिङ राउण्ड सकिएको छ ।


धरानको एलाएनेट जिमको आयोजनामा धरान–८ स्थित सभागृहमा शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो दिन प्रि–जर्जिङ राउण्ड सकिएको हो । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी तौल समुहबाट प्रतिस्पर्धा भएको क्लवका उपाध्यक्ष विकास कुमार गुभाजुले बताए । प्रिजर्जिङ राउण्डबाट १५ जना छनौट भएको उनले बताए । छनौट भएकाहरुले भोली शनिबार फाइनलको लागि प्रतिस्पर्धा गर्ने उनले जनाए । ‘प्रिजर्जिङ राउण्डबाट फाइनलका लागि १५ जना छनौट भए, अब भोली शनिबार १५ जनाबाट ५ जना विजेता छनौट हुन्छ’–क्लवका उपाध्यक्ष गुभाजुले भने ।

प्रतियोगितामा झापा, मोरङ, सुनसरीसहित काठमाडौं, बुटबलका २१ जना बडिबिल्डर्सहरुको सहभागीता रहेको क्लवका अध्यक्ष विक्रम लिम्बूले बताए । प्रि–जर्जिङ राउण्डमा मुख्य निर्णायक घनश्याम मुखियासहित ७ जना निर्णायक रहेका थिए । प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदीले गरिन् । प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, दोस्रोले नगद ५० हजार, तेस्रोले ४० हजार, चौथोले ३० हजार र पाँचौ हुनेले नगद २५ हजार रुपैयाँसहित ट्रफी पुरस्कार पाउने छन् । यसैगरी, बेस्ट प्रोजर, मस्कुलर मेन, मोस्ट इम्प्रुभ, बेष्ट टिम शिर्षकमा नगद ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।