काठमाडौं : वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका २०६ जना नेपाली मलेसियाको जेलमा रहेको पाइएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली दूतावासले विभिन्न जेलमा पुगी संकलन गरेको पछिल्लो तथ्यांकअनुसार अवैध बसाइ र व्यवहारजन्य समस्याका कारण मलेसियाका जेलमा २०६ जना नेपाली रहेको पाइएको हो ।
मलेयसिया पुगेपछि आफ्नो भिषा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइ, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेको दूतावासका प्रथम सचिव प्रेमराज गौतमाले बताए ।

यस्तै कतिपय भने चोरी, लागुऔषध कारोबार, अपहरण, जुवातासजस्ता गम्भीर मुद्दामा जेल पुगेको पाइएको उनले बताए । सचिव गौतमका अनुसार अवैध रुपले बसेकालाई प्रहरीले क्वालालम्पुरको पुत्राजयस्थित अध्यागमन विभाग हुँदै अदालतमा पेस गर्छ ।