खोटाङ: धार्मिक तथा पर्यटकीयस्थल भुलभूले दूधकुण्डबाट करीब एक किलोमिटर माथी प्राकृतिक रुपले भरिपूर्ण जङ्गलको फेदमा मनै लोभ्याउने ‘रुवालुङ’ झरनामा पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको माम्खामा पर्ने भुलभुले दूधकुण्डको ठीकमाथि रहेको झरना पुग्न पदमार्ग निर्माण गरिएको छ । नगरपालिकाको क्रमागत योजनाअन्तर्गत चालू आर्थिक वर्षमा छु्याइएको रु दश लाख लगानीमा ढुङ्गा बिच्छ्याएर झरनासम्म पुग्न पदमार्ग निर्माण गरिएको हो ।

मध्यपहाडी लोकमार्गदेखि करीब एक किलोमिटरमाथि रहेको उक्त झरनामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । जहिले सङ्लो र सेतो पानी देखिने झरनामा अहिले दैनिक १५० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक अवलोकन र सेल्फी खिच्न आउने गरेको स्थानीयवासीले बताएका छन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करीब दश किलोमिटर पर पर्ने भुलभुलेमा सवारीसाधन पार्किङ गरेर झरनासम्म पुग्न पैदलयात्रा गर्नुपर्छ । पर्यटकको चाप बढ्दै गएपछि होटलसमेत विस्तार हुँदै गएको भुलभुलेमा पर्यटकका लागि निःशुल्क पार्किङ गर्ने स्थानसमेत पर्याप्त रहेको छ ।

करीब १०० मिटर अग्लो झरनामा बाह्रैमहीना एउटै आकारको पानी देखिन्छ । गौथले र गिद्धे सामुदायिक वनको बीचमा मुहान रहेको पानी झर्ने झरनामा स्नान गरे रोगव्याधि नाश हुने विश्वास रहिआएको छ । चट्टानै चट्टानको बीचबाट झर्ने झरनाको पूर्वपट्टि पौराणिक इतिहास बोकेको झाँक्रीबास गुफा छ । झरना नजिकै रहेको गुफामा पहिले वन झाँक्री बस्ने गरेको स्थानीय वृद्ध राजनसुर राईले बताए ।

ठूला पहाड र जङ्गलको बीचमा रहेको प्राकृतिक गुफामा अहिले पनि वनझाँक्रीको पूजाआजा गर्ने चलन रहिआएको बताइएको छ । गुफामा गएर वन झाँक्री पूजाअर्चना गरेमा मनोकांक्षा पूरा हुने विश्वास रहिआएको छ । केही वर्षअघिसम्म ओझेलमा रहेको झरनामा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेपछि झरनासम्म पुर्याइएको पदमार्गलाई व्यवस्थित गर्न स्तरोन्नतिको तयारी गरिएको निर्माण उपभोक्ता समितिका सचिव लोकेन्द्र राईले बताए । ठाउँठाउँमा विश्रामकक्षसहितको पदमार्ग निर्माण केही दिनमै शुरु गरिने निर्माण उपभोक्ता समितिले जनाएको छ । नगरभित्र रहेको पर्यटकीयस्थलको स्तरोन्नति गर्दै नगरको आन्तरिक आयस्रोत वृद्धि गर्न लागिपरेको नगरपालिकाले जनाएको छ ।