धरान : करिब ५० लाख रुपैयाँको कारोबार गर्दै प्रदेश १ स्तरीय पुष्प व्यापार तथा प्रदर्शनी मेला शनिबार सम्पन्न भएको छ ।


धरान–१२ स्थित अमान बजारमा फ्लोरिकल्चर एसोसिएसन नेपाल सुनसरीले लगाएको ६ दिने तेस्रो संस्करणको पुष्प मेला शनिबार सम्पन्न भएको हो । मेलामा ३२ वटा व्यवसायिक स्टलहरुमा करिब ४ सयभन्दा बढी प्रजातीका फूलका विरुवाहरु राखिएको थियो । मेला अवधिभर फुलको कारोबार राम्रो भएको व्यावसायिहरुले बताएका छन् । व्यवसायि–व्यवसायिबीच यसरी प्रत्यक्ष भेट हुदाँ नयाँ कुराहरुको ज्ञान लिन र दिन पाएको धरान–१९ का पुष्प व्यावसायी विश्व लिम्बूले बताए । ‘पहिलो पटक सहभागी भएको उपलब्धी मुलक रह्यो’ उनले भने ‘ग्राहकसंग कसरी बोल्न भन्ने जानियो’ । मेलामा सोचे भन्दा राम्रो विक्री भएको धरान–२० का पुष्प व्यावसायी यूमिनहाङ राईले बताए । ‘

pp

मेरो करिब १ लाख माथीको कारोबार भयो, प्रत्यक्ष व्यावसायी साथीहरुसंग भेटभयो धेरै कुराहरु सिकियो उपलब्धी मुलक भयो भन्नुपर्यो’–उनले भने । मेलाको समापनको दिन व्यवसायिहरु र उपभोक्ताहरुबीच फूल बेच्न र किन्न भ्याइनभ्याइ थियो । तेस्रो संस्करणसम्म लगातार सहभागी बनेका झापको दमकका पुष्प व्यावसायी टेकबहादुर राईले ४ लाख भन्दा माथीको कारोबार भएको बताए । फूलको कारोबार सोचे भन्दा राम्रो भएको आयोजकको दाबी छ । मेला अवधिभर करिब ५० लाखको कारोबार र २५ हजार भन्दा बढीले मेलाको अवलोकन गरेको मेला संयोजक प्रेमप्रसाद पराजुलीले बताए ।

‘यस पटक कारोबारको हिसाबले करिब ५० लाख पुग्नुपर्ने हो’ उनले भने ‘मेलाको अवलोकन गतवर्ष भन्दा बढी करिब २५ हजारले प्रत्यक्ष अवलोकन गरे’ छिमेकी जिल्ला उदयपूरको बेलका नगरपालिकाबाट पनि अवलोनको लागि आएको उनको भनाई थियो । मेलामा झापा, मोरङ, धनकुटा, इलामलगायतको पुष्प व्यावसायिहरुले स्टल राखेका थिए । मेलाको समापन कार्यक्रममा धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदी, फ्लोरिकल्चर एसोसिएसन नेपाल सुनसरीका संरक्षक बंशी मोक्तान, धरान–१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेलगायतको उपस्थिती रहेको थियो ।