धरान: ग्यालेक्सी फिटनेश, झापा(विर्तामोड)का ललित धिमालले दोस्रो नेपाल च्याम्पियन राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् ।

एलाइनेट जिमको आयोजनामा आज(शनिबार) साँझ धरान ८ स्थित सभागृहमा सम्पन्न प्रतियोगितामा ओभरअल राउण्डमा पनि प्रथम हुदै धिमाालले नेपाल च्याम्पियनको उपाधि जितेका हुन् । प्रतियोगितामा उनी ७५ केजी वजन समुहबाट सहभागी भएका थिए । आफ्नो वजन समुहमा पनि प्रथम भएर उनी उपाधिको लागि ओभरअल राउण्डमा भिडेका थिए । विजेता धिमालले च्याम्पियन ट्रफीसहित नगद १ लाख ५० हजार हात पारे ।

IMG_1753

प्रतियोगितामा एलाइनेट जिम धरानका मनिष लिम्बू दोस्रो भए भने ग्यालेक्सी फिटनेश झापाका सुमन लिम्बू तेस्रो भए । यस्तै, ड्याजुल फिटनेश विराटनगरका प्रविण राजवंशी चौथो भए भने पथरी फिटनेश मोरङका अजय मल्लिक पाँचौ भए । दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानका खेलाडीहरुले क्रमशःनगद ५० हजार, ४० हजार, ३० हजार र २५ हजार थापे । मनिष ७० केजी, सुमन ६५ केजी, प्रविण ५५ केजी र अजय ६० केजी वजन समुहबाट प्रथम हुदै ओभरअल राउण्डमा भिडेका थिए ।

यस्तै, प्रतियोगितामा बुटवलका विजेन्द्रमान श्रेष्ठले वेष्ट पोजर, न्यू फ्लेक्स एण्ड फिटनेश काठमाण्डौका नरेश मालाकारले मोष्ट मस्कुलरमेन र देवीबहादुर बस्नेतले बेष्ट इम्प्रुभरको पुरस्कार पाए । उनीहरुले जनही नगद ५ हजारसहित ट्रफी थापे । विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुुख अतिथि एवं प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारी, आयोजक संस्थाका अध्यक्ष बिक्रम लिम्बूलगायतले पुरस्कार प्रदान गरेका थिए ।

IMG_1758