ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “करको दायरामा सुकुम्बासी” शीर्षकको समाचार छापिएको छ । घरनम्बर पाएका सुकुम्बासीहरुको व्यवस्थापनका लागि भन्दै धरान उपमहानगरपालिकाले ‘व्यवस्थापन शुल्क’ का नाममा सुकुम्बासीमाथि कर लगाइरहेको छ । उपमहानगरपालिकाले सुकुम्बासी बस्तीहरुलाई करको दायरामा ल्याउन बस्तीमा दिदैँ आएको सेवा सुविधाबापत शुल्क लिएको धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले जानकारी दिईन् । ०६९ सालदेखि ०७२ सालसम्मको तथ्याङ्कअनुसार धरान उपमहानगरपालिकामा अव्यवस्थित बसोबास र सुकुम्बासीका नाममा बसोबास भइरहेको बस्तीलाई बस्तीलाई व्यवस्थापन गर्न उप–महानगरपालिकाले खानेपानी, बिजुली, घर नम्बरलगायतका सेवासुविधा प्रदान गर्दै आएको छ । सुकुम्बासीलाई घर नम्बर दिएपछि व्यवस्थापन शुल्कका रुपमा निश्चित रकम लिइदैँ आएको कार्यवाहक मेयर भण्डारीको भनाई छ ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “बाबुको हत्या गर्नेलाई साढे ३७ वर्षको सजाय” शीर्षकको अर्को समाचार पनि छापिएको छ । गत भदौ १ देखि मुलुकी अपराध संहिता ऐन २०७४ लागू भएपछि जिल्ला अदालत मोरङले पहिलो पटक एकिकृत कसुर अन्तर्गतको फैसला गरेको छ । एकीकृत कसुर अन्तर्गतको कर्तव्य ज्यान र ज्यान मार्ने मुद्दामा विराटनगर १७ का १९ वर्षीय चन्नु भनिने बब्लु सिंहलाई अदालतले साढे ३७ वर्षको कैद सजायको फैसला गरेको हो । मोरङ अदालतका मुख्य न्यायधिस राजकुमार खतिवडाको इजलासले सिंहलाई प्रचलित कानुनमा भएको व्यवस्थाअनुसार कर्तव्य ज्यानमा २५ वर्ष र ज्यान मार्ने उद्योगमा १२ वर्ष ६ महिनाको कैद सजायको फैसला सुनाएको हो । अदालतमा मुद्दा दर्ता भएको दुई महिनापछि यो मुद्दाको फैसला भएको श्रेस्तेदार ईश्वर ओझाले जानकारी दिए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “तालाबन्दीले विश्वविद्यालय अस्तव्यस्त” शीर्षकको समाचार छापिएको छ । पूर्वाञ्चल विश्वविद्यालय – पियू) मा शिक्षक र विद्यार्थीले गरेको तालाबन्दीले कामकाज प्रभावित भएको छ । विश्वविद्यालयले समस्या समाधानका लागि ठोस पहल नगरेको कारण लामो समयदेखि कामकाज प्रभावित भएको हो । विश्वविद्यालयले गरेका विभिन्न नियुक्तिको विषयमा विवाद झिक्दै शिक्षकहरुले पुष २८ गते पुक्ष्पलालचोकस्थित पियुको केन्द्रिय कार्यालयमा तालाबन्दि गरेका थिए । यस्तै पूर्वाञ्चल विश्वविद्यालयका व्यवस्थापन, विज्ञान तथा प्रविधि र मानविकी संकायका डिनको कार्यालयमा पनि लामो समयदेखि तालाबन्दी भईरहेको छ । पियुका शिक्षकहरुले सहडिन र सह–रजिस्टर नियुक्तिकामा विवाद झिक्दैँ करिब डेढ महिनादेखि गरिएको तालाबन्दी अझैँ यथावत् छ । विश्वविद्यालयले सहडिनमा गोपाल शर्मा, कोमल दुलाल र सहरजिस्टारमा राजेशकुमार झालाई नियुक्त गरेको थियो । २०७० वैसाख १९ गते कायकारी बैठकले निर्धारण गरेको मापदण्डअनुसार पदाधिकारी नियुक्ति नगरिएको शिक्षकहरुको आरोप छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “हिंसात्मक गतिविधि रोकिनुपर्छ” शीर्षकको समाचार छापिएको छ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले मुलुकमा हिंसात्मक गतिविधि अन्त्य गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन् । शुक्रबार काठमाण्डौँमा भएको विस्फोटमा एकजनाको मृत्यु भएपछि गच्छदारले सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका हुन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै उपसभापति गच्छदारले गोलीबाट कुनै पनि समस्या समाधान नहुने धारण राखेका हुन् । शान्ति खल्बल्याउने पक्षसंग सरकारले तत्काल वार्ताको माध्यमबाट समस्या समाधानको पहल थाल्नुपर्ने उनले बताए । सरकारले विगतका घटनाबाट पाठ सिकेर अघि बढ्न आवश्यक रहेकोमा उनले जोड दिए । दुई तिहाई बहुमतको सरकारले जनताको पक्षमा कार्य गर्न नसकेको आरोप लगाउँदै गच्छदारले जनताले परिवर्तनको अनुभुति गर्न नपाएको बताए ।

मर्निङ टाइम्स : आजको मर्निङ टाइम्स दैनिकमा “आधारभुत सुविधाबाट वञ्चित चिलिय टापु” शीर्षकको समाचार छापिएको छ । उदयपुर र सुनसरी जिल्लमा यस्ता गाउँ पनि छन्, जीवनका लागि आवश्यक आधारभुत सुविधा केही छैनन् । उदयपुरको बेलका नगरपालिकाको चिलिया टापु र सुनसरीको बराहक्षेत्र नगरपालिकाको श्रीलंका टापु चारैतिर सप्तकोशी नलीले घेरीएका दुई गाउँ हुन् । आधारभुत सुविधा नभएपनि त्यहाँ खेती किसानी गरेर पुस्तौँ देखि मानिस बस्दै आएका छन् । नेपालमा ठुल्ठुला राजनितिक परीवर्तनहरु भएपनि दुई गाउँबासीले त्यसको अनुभुती गर्न पाएका छैनन् । सुनसरीको श्रीलंका टापुका बारेमा धेरै चर्चाहरु मिडियामा आएका छन् । तर त्यस्तै चिलिया टापुका बारेमा भने कुनै सार्वजनिक चर्चा र सरोकारका विषय उठन सकेको छैन ।