भेनेजुएला : भेनेजुएलाले कोलम्बियासँगको कुटनीतिक सम्बन्ध तोडेको छ । सीमा क्षेत्रमा हिंसा फैलाउन मद्दत गरेको आरोप लगाउँदै भेनेजुएलाले कोलम्बियासँगको सम्बन्ध तोडेको हो ।

राष्ट्रपति निकोलस मादुरोले कोलम्बियासँगको सीमा नाकासमेत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका छन् । कोलम्बियामा प्रवेश गर्न खोज्ने हजारौं भेनेजुएलालीलाई रोक्ने र वैदेशिक राहत सामग्री भित्रन नदिने प्रयासस्वरुप ती नाका बन्द गरिएको जनाइएको छ ।

भेनेजुएला सरकारले सीमावर्ती नाका बन्द गरेपछि विपक्षी कार्यकर्ताहरुले प्रदर्शन चर्काएका छन् । अमेरिकालगायत युरोपेली मुलुकले दिएको मानवीयता सहायता भित्र्याउनुपर्ने भन्दै विपक्षी कार्यकर्ताले सीमावर्ती क्षेत्रका शहरहरुमा प्रदर्शन चर्काएका हुन् ।

त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच भिडन्तसमेत भएको छ । पछिल्लो समयमा कोलम्बियाको सीमामा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भिडन्त भएको हो । सुरक्षाकर्मीले कयौं सेल अश्रुग्यास र रबरका गोली प्रहार गरेका छन् ।

प्रदर्शनकारीलाई साथ दिँदै केही सुरक्षाकर्मीले चौकीसमेत छाडेका छन् ।

भेनेजुएलाका विपक्षी नेता हुँवा गुइदोले सहायताको पहिलो खेप भेनेजुएला पुगिसकेको दावी गरेका छन् । ब्राजिलको बाटो हुँदै राहत सामग्री भेनेजुएला भित्रिएको उनको दावी छ ।

यसअघि शुक्रबार ब्राजिलको सीमानजिक भेनेजुएलाका सुरक्षाकर्मीले गोली प्रहार गर्दा दुई जना प्रदर्शनकारीको मृत्यु भएको थियो । शनिबार पनि थप दुई जनाको मृत्यु भएको बताइएको छ ।