धरान (डेस्क) :  नेपाली भाषाका साहित्यकार तथा भाषाशास्त्री बालकृष्ण पोखरेलको निधन भएको छ ।

 

नेपाली भाषाका ‘इन्साइक्लोपेडिया’ को रुपमा मानिने साहित्यकार पोखरेलको निधन आइतबार विहान १ बजे भएको परिवारजनले जानकारी दिएका छन् ।

मस्तिष्क घातबाट पीडित पोखरेलको विराटनगरको स्पार्क नेचुरोप्याथी एन्ड फिजियोथेरापी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको परिवार स्रोतले बताएको छ ।

‘बृहत् नेपाली शब्दकोश’, ‘ राष्ट्रभाषा’, ‘खस जातिको इतिहास’, ‘शौरी’ महाकाव्य, ‘पाँच सय वर्ष’ नामक भाषाको अनुसन्धान कृति प्रकाशन गरेका पोखरेलका दर्जनौँ उपन्यास, कथा, नाटक र समालोचना जस्ता विभिन्न पाँच विधाका थुप्रै कृतिहरू प्रकाशित छन् ।

 ‘वसन्त’, ‘बत्सल’, ‘बालकृष्ण रुपाखेती’, ‘केके मनुच्यो पोखरेल’, ‘गड्तिरे साइँला’ आदि नामबाट पोखरेलका उपन्यासहरू प्रकाशित भएका छन् ।