धरान:नेकपालाई तल्लो तहसम्मको पार्टी कमिटि एकीकरण गर्न सकस भइरहेको बेला एक नेताले भने वरिष्ठता नहेरी अनुहार हेरेर र नेताहरुले आफ्नो खल्तीबाट नाम झिकेर एकीकरण गर्दा समस्या हुने चेतावनी दिएका छन् ।

धरानमा आइतबार आयोजित अगुवा कार्यकर्ता भेलामा नेकपाका स्थायी कमिटि सदस्य तथा प्रदेश नं १ का इञ्चार्ज भीम आचार्यले पार्टी एकता गर्न पद्दती र मापदण्ड बनाउने हो भने ठुलो समस्या पनि नभएको बताए । उनले मापदण्ड बनाएर पार्टी एकीकरण गर्दा सबै कुरा मिल्दै जाने पनि जिकिर गरे । ‘पार्टी एक बनाउन छिटो गर्नुपथ्र्यो, विलम्ब भइरहेको छ । पार्टी एक बनाउन सिस्टम बस्यो भने, मापदण्ड बनाएर एक गर्ने हो भने भारीभरकम केही छैन,’नेता आचार्यले भने,‘दुई चार वटा क्राइटेरिया बनाउने हो भने मिल्दै जान्छ, सिनियरिटी नहर्ने र अनुहार हेरेर, खल्तीबाट नाम निकाल्ने हो भने समस्या आउछ ।’

विगतमा एमाले, माओवादीसँग भएको कमिटिको आधारमा वरिष्ठता आफै छुटिने र एकताको क्रममा कोही छुटेको भए अधिवेशनबाट समेटिने नेता आचार्यको भनाई थियो । ‘नितीगतरुपमा गर्ने हो भने एकता चाडै हुन्छ, अब विलम्ब स्वीकार्य छैन, अब हुनु हुदैन ।’ कांग्रेसले पटक पटक बहुमतको सरकार बनाएपनि सम्झनलायक काम नगरेको भन्दै उनले आफ्नो विगत सम्झेर नेकपाको सरकारको आलोचना गर्न पनि सुझाव दिए । ‘आफुले बहुमत पाउदा सम्झनलायक कुनै काम गरेको छैन, अनि अहिले सत्ता नपाएपछि कांग्रेस बर्बराएको मात्र हो,’उनले भने ।