भोजपुर : पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काँखमा रहेको महभीर झरना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ ।

करीब ६० मिटर अग्लो झरनाको मनोरम दृश्य र भीरमौरी हेर्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् ।  भोजपुर सदरमुकामबाट २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करीब चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी उत्तिकै मात्रामा बग्ने गर्दछ । झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ । दैनिक १० देखि १२ समूह झरना भएको स्थलमा रमाइलो गर्न पुग्ने गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले यसको विकास गरेर आयआर्जनको स्रोत सङ्कलन गर्ने लक्ष्यका साथ यहाँसम्म पुग्ने पदमार्ग निर्माण गरिदिएपछि पर्यटकलाई यहाँ पुग्न निकै सहज भएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो । उनीहरूले यहाँ पुगेर भीरमौरीसँगै झरनाको मनोरम दृश्य अवलोकन गर्ने गरेका छन् ।  यसलाई अझ प्रचारप्रसारसँगै आवश्यक पूर्वाधारको विकास गर्न सके गाउँपालिकालाई आर्थिक स्रोत सङ्कलन गर्न धेरै सहज हुने स्थानीयको भनाइ छ ।