झापा: झापाको दमकस्थित उत्तरी क्षेत्रका नागरिक शुद्ध पिउने पानीको अभाव झेलीरहेका छन् ।

यस क्षेत्रका बासिन्दालाई शुद्ध पिउने पानी सहजरुपमा उपलब्ध गराउने उद्देश्यले नेपाल सरकार तथा बिभिन्न दातृ निकायको लगानीमा नजिकै रहेको मावा खोलाबाट खानेपानी आयोजना संचालन गरिएको थियो । तर अत्यधिक नदी दोहनका कारण खोलाले खानेपानीका पाईप बगाएपछि अहिले सो सुविधाबट बंचित हुनु परेको छ । झापाको दमक प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर पनि हो । 

दमक ३ स्थित दुम्सेकी सरिता राई नजिकै रहेको मावा खोलाबाट पानी ल्याएर आफनो दैनिक गर्जो टार्ने गरेको बताउँछिन् । राईको घर नजिकै पानीको धारा पनि छ । तर पानी आउदैन । जसका कारण अनेकौ जेखिम मोलेरै भएपनि खोलाको धमिलो पानी उपभो गर्न बाध्य हुनपरेको राईले बताईन् । हुन त यो समस्या दमकको उत्तरी क्षेत्रका नागरिकको मात्र हैन । नजिकै सिमाना जोडीएको इलामको चुलाचुली गाउँपालिका बासिन्दाको पनि खाने पानीको समस्या उस्तै छ । चुलाचुली ५ का अमृत राईको घर मावा खोलाकै छेउमा छ । उनको घर नजिकैको पानी ट्याङकीमा पानी लैजानका लागि पाईपहरु गाडिएका छन् । तर ती पाईपहरु खोलामा आउने बाढिले प्रत्येक वर्ष बगाईदिँदा समस्या झेलिरहेको राईले बताए ।

हालसम्म १ करोड भन्दा धेरै रकम खर्च भईसक्दा समेत पुग्दो र नियमित खानेपानी वितरण हुन सकेको छैन । भूटानी शरणार्थी दातृ निकाय यूएनएचसीआरको सहयोगमा विश्व लुथरन फेडरेशनले ४२ लाख, उपभोक्ताले १० लाख, दमक नगरपालिकाको २० लाखसहित पटक पटक मुहान मर्मतखर्च र पाईप विस्तार गरी १ करोड भन्दा धेरै खानेपानीमा खर्च भईसकेको छ । तर पनि यहाँका नागरिकले पर्याप्त र शुद्ध पानी पिउन नपाएको गुनासो गर्छन्, स्थानीयबासी मानबहादुर लिम्वु ।

दुम्से खानेपानीमा गत असारको अविरल बर्षा र बाढीका कारण ३ वटा मध्ये २ वटा मुहानमा क्षति पुगेको थियो । मुहानको फिल्टर पाइप बगाएपछि प्रतिसेकेन्ड १० देखि १२ लिटर ट्याङ्कीमा जम्मा हुने पानी हाल ४ लिटरमा झरेको छ । ट्याङ्कीमा आवश्यक पानी जम्मा हुन नसकेपछि पानीको अभाव हुन थालेको छ । तर यो समस्याको समाधानका लागि दुम्से खानीपानी उपभोक्ता सरसफाइ समितिले केही नयाँ योजनाहरु बनाई राखेको समितिका अध्यक्ष हिमदल भण्डारी बताउँछन् ।

हालसम्म ५ सय धारा जडान भइसकेको दुम्से खानेपानी योजना अन्तर्गत भूटानी शरणार्थीहरुलाई पनि ४० प्रतिशत सुविधा दिने सर्तमा योजना संचालनमा ल्याइएको हो । हरेक बर्ष खोलामा आउने भेल बाढीले मुहानको पाइप बगाउने र क्षति पुर्याउने गरेपछि दमक वडा नं. ३ उत्तरी क्षेत्रका बासिन्दा र भूटानी शरणार्थीले खानेपानीको समस्या भोग्न बाध्य छन् ।

तस्बिर स्रोत: गुगल