विराटनगर : प्रदेशसभा १ को आज आइतबारको बैठकमा प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि सैद्धान्तिक छलफलमा सहभागी सदस्यहरुले सरकारको तीनखम्बे अर्थनीतिअनुरुप प्रदेश सहकारी ऐन आउनुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले सहकारी ऐनले उद्योग, पर्यटन, कृषि क्षेत्रमा लगानी गर्न प्रेरित गर्नुपर्ने, शेयरधनीको लगानी र बचतको सुनिश्चित हुनुपर्ने तथा सहकारी ऐन ‘एकसँग सबै, सबैसँग एक’ भावनामा आधारित भएमा मात्र राज्य लाभान्वित हुने धारणा राखेका थिए । छलफलमा प्रदेशसभा सदस्यहरु अर्जुन राई, सञ्जाकुमारी दनुवार, सर्वध्वज साम्वा र सूर्यमाराज राईले भाग लिएका थिए ।

यसैगरी प्रदेशसभाको शून्य समयमा प्रदेशसभा सदस्य ज्योति सुब्बाले सुनसरीको रामधुनी झुम्कामा स्वच्छ खानेपानीको प्रबन्ध गर्नुपर्ने बताइन् । अर्का सदस्य नीरन राईले प्रदेशको राजधानी धनकुटा हुनुपर्ने सुझाव दिए भने मोहम्मद ताहिर मियाँले मुसलमानका लागि सरकारले निर्धारण गरेको आरक्षणमा वृद्धि गर्नुपर्ने माग गरे ।
सदस्य रामकुमार राईले खोटाङमा सुख्खा पहिरोका कारण बरहादोखली क्षेत्रका ११ घर विस्थापित ११ घर जोखिममा र सकिलामा एक घर विस्थापित तीन घर जोखिममा परेकाले प्रदेश सरकारले विस्थापितलाई राहत र जोखिममा परेकालाई उचित बासको व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए । प्रदेशसभाको अर्को बैठक फागुन १६ गते अपरान्ह २ बजेछ ।