ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “अख्तियारभित्रकै भ्रष्टाचार निगरानी गर्न ‘युनिट’ शीर्षकको समाचार छापिएको छ । भ्रष्टाचारलाई पूर्ण नियन्त्रण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगभित्रकै क्रियाकलापलाई नियन्त्रण गर्न ‘इन्टलिजेन्स युनिट’ खडा गरेको छ । अख्तियारका आयुक्त राजनारायण पाठक नै घुस काण्डमा मुछिएपछि आयोगले आफ्नैभित्रको क्रियाकलापलाई नियन्त्रण गर्न युनिट खडा गरेको हो । यो युनिटले आयोगभित्रका भ्रष्टाचारलगायतका अपराधलाई निगरानी राख्नेछ । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको आइतबारको बैठकमा प्रमुख आयुक्त नवीन कुमार घिमिरेको प्रत्यक्ष नियन्त्रणमा रहने गरी १५ जनाको युनिट खडा गरेको जनाएका छन् । यने युनिटले आयोगका कर्मचारीहरुको निगरानी राख्नेछ ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “प्रदेश १ भरी ३६ अस्पताल” शीर्षकको अर्को समाचार पनि छापिएको छ । प्रदेश नं. १ का १४ जिल्लामा ३६ शैयाका अस्पताल निर्माण हुने भएका छन् । विहीबार सम्पन्न स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय बैठकले देशका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र र केही स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्ने नीतिगत निर्णय गरेअनुसार प्रदेश १ मा ३६ वटा अस्पताल निर्माण हुने भएका हुन् । देशभरका प्राथमिक स्वास्थ्य केन्द्र र केही स्वास्थ्य चौकीसहित २ सय १३ स्वास्थ्य संस्थालाई १५ शैयाको अस्पतालमा स्तरोन्नति गर्ने नीतिगत निर्णय गरेको मन्त्रालयका प्रवक्ता एवं प्रमुख जनस्वास्थ्य प्रसासक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “पेट्रोल पम्पद्वारा अनुगमनमा अवरोध” शीर्षकको समाचार छापिएको छ । सुनसरीको दुहवी २ स्थित ललिता पेट्रोल पम्पमा अनुगमन गर्दा सेवाग्राही ठगिएको आशंका गरिएको छ । अनियमितता भएको जनगुनासो बढेपछि गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले दुहवीका पेट्रोल पम्पहरुमा अन’शगमन गरपछि सेवाग्राही ठगिरहेको आशंका गरिएको हो । गुणस्तर तथा नापतौल कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय दुहवीको संयुक्त अनुगमन टोलीले ललिता पेट्रोल पम्प र दुहवी ३ स्थित पाथिभरा पेट्रोल पम्पमा आइतबार अनुगमन गरेका थिए । सञ्चारकर्मीसमेत सहभागी अनुगमन टोली दुहवी २ तुताहास्थित ललिता पेट्रोल पम्प परिसरमा प्रवेश गर्ने वित्तिकै सञ्चालकले डिस्पेन्सिङ पम्पको पावर सप्लाई (विधुत लाइन) काटेर अनुगमनमा बाधा पुर्याउने प्रयास गरेका थिए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “बनिनसक्दै चर्कियो पुल” शीर्षकको समाचार छापिएको छ । उदयपुरको कटारीमा निमार्णाधीन करोडौँ लागतको पक्की पुल बनी नसक्दै भत्कने खतरा बढेको छ । पुल निर्माणमा गुण्स्तरहिन सामान प्रयोग भएका कारण निर्माणाधीन पुलको बिम ढलान नसकिदै चर्केको भन्दै स्थानीयले गुनासो गरेका छन् । मिर्चैया ओखलढुगा जोड्ने सिद्धीचरण लोकमार्गको मिर्चै–कटारी खण्डमा पर्ने कटारी नगरपालिका ३ हडैया खोलामा निर्माणाधिन पुलको भर्खरै ढलान सकिएको स्ल्याब अड्क्याउने बिम चर्केर चर्केको स्थानीयले बताएका छन् । ढलान नखाल्दै बिम चर्कनुमा गुणस्तरहिन सामाग्री प्रयोग भएको अनुमान स्थानीयले गरेका छन् । काम आधा नहुँदै भत्कन थाल्नुले सामान गुणस्तरहीन भएर हो वा ढलानमा लापरबाही दुईमध्ये एउटा कारण हुनसक्ने अनुमान स्थानीयको छ । डिभिजन सडक कार्यालय लहानको ठेक्का सम्झौतामा पुल निर्माण भइरहेको हो ।

पूर्वी बजार : आजको पूर्वी बजार दैनिकमा “उपमहानगरले कारबाही नगर्दा जनता आफैँले भत्काए” शीर्षकको समाचार छापिएको छ । इटहरीको रिजाल टासी कम्पनी प्रा.लि.ले सीमा विवादका बीच स्थानीयबारी र उपमहानगरपालिकाको आदेशलाई समेत वेवास्ता गर्दै बनाएको पर्खाललाई स्थानीयले भत्काइदिएका छन् । रिजाल टासी कम्पनीले जर्बजस्ती सीमा मिचेर पर्खाल बनाएको भन्दै खेती खोला टोल विकास समितिले उपमहानगरपालिकामा उजुरी दिएको थियो । सो उजुरीपछि ‘तत्काल काम रोक्नु’ भनी उपमहानगरपालिकाले पत्र पठाएको थियो । तर कम्पनीका प्रतिनीधिले उपमहानगरपालिकाको पत्रलाई वेवास्ता गर्दै इटहरी ५ का वडाध्यक्ष कल्याण कार्कीको संरक्षकत्वमा जर्बजस्ती पर्खाल निर्माण गरेको भन्दै स्थानीयले सो पर्खाल भत्काएका हुन् ।