ढाका : विमान बंगलादेश एयरलाइन्सको एउटा विमान अपहरण गर्न खोज्न एक युवक सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् ।

बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको बीजी १४७ फलाइट नम्बरको विमानलाई अपहरण गर्न खोज्न युवक मारिएका हुन् । १४८ जना यात्रुसहित उडेको विमानमा एक जनाले ककपिटमा पुगेर पेस्तोल देखाउँदै नियन्त्रणमा लिन खोजेका थिए ।

ती व्यक्तिले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग कुरा गर्न पाउनुपर्ने माग गरेका थिए । विमानका चालकले चलाखीपूर्ण रुपले प्रधानमन्त्रीसँग कुरा गराइदिने आश्वासन दिएर चटगाउँस्थित शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा पु¥याएर विमानको आपतकालीन अवतरण गराए । त्यसपछि सबै यात्रुलाई सकुशलतापूर्वक बाहिर निकालिएको थियो ।

विमानभित्रै रहेका अपहरणकारीलाई आत्मसमर्पण गर्न भनिएकोमा नमानेपछि उनलाई गोली प्रहार गरिएको बंगलादेशका अधिकारीहरुले जनाएका छन् । २५ वर्षीय युवकले किन विमान अपहरणको प्रयास गरे भन्ने चाहिँ स्पष्ट भएको छैन । विमान अपरहणको प्रयास गर्ने युवक बंगलादेशी नागरिक रहेको बताइएको छ ।