विराटनगर: आइतबार निधन भएका भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलप्रति सम्मान व्यक्त गर्दै विराटनगर महानगरपालिकाले एक दिन शोक विदा दिने निर्णय गरेको छ ।

महानगरपालिकाको आज(सोमबार) बसेको कार्यपालिका बैठकले भोली मंगलबार एक दिन शोक विदा दिने निर्णय गरेको हो । पोखरेलले नेपाली भाषा र साहित्यको क्षेत्रमा पुर्याएको अमूल्य योगदानको सम्मान गर्दै मंगलबार एक दिन शोक विदा दिने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ । महानगरले एक सचुना जारी गर्दै मंगलबार बिराटनगर महानगरपालिका र १९ वटै वडा कार्यालयहरु, महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयहरुमा शोक विदा दिने निर्णय गरेको जानकारी दिएको छ ।

52727974_2683094791762192_7

वि.स.१९९० मा जन्मिएका पोखरेल विराटनगर महानगरपालिका वडा नं १० मा बस्दै आएका थिए । उनी नेपाली भाषा, साहित्यका मुर्धन्य विद्धान थिए । उनलाई नेपाली भाषा पढ्ने सबै विद्यार्थीका र गुरुका पनि गुरु मानिन्छ । पोखरेलले कोलकाता विश्वविद्यालयबाट भाषाशास्त्रमा एमए गरेका थिए । ‘बृहत् नेपाली शब्दकोश’, राष्ट्रभाषा’, ‘खस जातिको इतिहास’, ‘शौरी’ महाकाव्य, ‘पाँच सय वर्ष’ नामक भाषाको अनुसन्धान कृति प्रकाशन गरेका पोखरेलका दर्जनौँ उपन्यास, कथा, नाटक र समालोचना जस्ता विभिन्न पाँच विधाका थुप्रै कृतिहरू प्रकाशित छन् । ‘वसन्त’, ‘बत्सल’, ‘बालकृष्ण रुपाखेती’, ‘केके मनुच्यो पोखरेल’, ‘गड्तिरे साइँला’ आदि नामबाट पोखरेलका उपन्यासहरू प्रकाशित भएका छन् ।