रुपन्देही: धरानको २१ औं बुढासुब्बा रेडबुल गोल्कडप जितेको क्यामरुनी क्लब डाउफिन्स एफसिले नेपालमा उपाधि ह्याट्रिक गरेको छ । आज रुपन्देहीमा सम्पन्न २१ औं तिलोत्तमा गोल्डकपको उपाधि जित्दै डाउफिन्सले ह्याट्रिक गरेको हो ।

आज फाइनलमा डाउफिन्सले नेपाल पुलिस क्लबलाई सडन डेथमा हराउदै उपाधि उचाल्यो । सडन डेथमा पुलिसका तेज तामाङ गोल गर्न असफल भएपनि डाउफिन्सले लगातार तीन उपाधि उचाल्यो । तेजको प्रहार डाउफिन्सका प्रिसोले रोकेका थिए । तिलोत्तमा गोल्डकप अघि डाउफिन्सले धरानमा फागुन ४ गते सम्पन्न बुढासुब्बा गोल्डकपको उपाधि जितेको थियो । उसले आयोजक धरान फुटबल क्लबलाई सडन डेथमा नै जितेको थियो । त्यसअघि, माघ २८ गते पोखरामा सम्पन्न मनकामना केबलकार पोखरा कपको उपाधि उचालेको थियो । उसले त्यहाँ फाइनलमा एपिएफ क्लबलाई हराएको थियो ।

आज सोमबार तिलोत्तमा गोल्डकपको फाइनल खेलको निर्धारित समयको ९० मिनेटमा गोलरहित बराबरी भएपछि टाइब्रेकर भएको थियो । टाइब्रेकरमा समेत दुवैबाट बराबरी ५(५ गोल भएपछि खेल सडेन डेथमा पुगेको थियो । जितसँगै डाउफिन्सले ८ लाख ८० हजार हात पार्यो भने पुलिसले ५ लाख ५० हजारमा चित्त बुझायो ।

समापन समारोहमा नै आय व्यय सार्वजनिक

img-0632 1
२१ औं तिलोत्तमा गोल्डकपको आयोजक रुपन्देही फुटबल संघले समापन समारोहमा नै आय व्यय सार्वजनिक गरेको छ । रुपन्देही संघको यो अभियान नेपालका अन्य विभिन्न गोल्डकप आयोजकहरुको लागि अनुकरणीय कार्य हो ।

खास गरी धरानको बुढासुब्बा गोल्डकप आयोजकमाथि आर्थिक पारदर्शिताको प्रश्न उठ्दै आएको छ । धरान फुटबल संघले एउटा गोल्डकप सकिएको बर्ष दिन बित्न लाग्दा अर्को सँस्करणको तयारीको पत्रकार सम्मेलनको बेला मात्र आय व्याय प्रस्तुत गर्ने गरेको छ । जसले गर्दा सञ्चारकर्मीहरुले मात्र होइन, सहयोगी दाता एवं सर्वसाधारणहरुले आर्थिकरुपमा क्लबमाथि शंका गर्ने ठाउँ दिने गरेको छ ।

तिलोत्तमा गोल्डकम आयोजक संघका अध्यक्ष कुमार केसीका अनुसार १८ औं सँस्करणदेखि नै आर्थिक पारदर्शिताको लागि समापन समारोहमा नै प्रतियोगिताको आय व्यय सार्वजनिक गरिदै आएको हो । आज सम्पन्न २१ औं सँस्करणमा ७१ लाख ७२ हजार ६ सय रुपैया आय भएको संघले जानकारी दिएको छ भने खर्च(व्यय)तर्फ ७४ लाख ९ हजार ३ सय ४० रुपैया भएको छ । यो खर्च विवरण अनुसार आज सम्पन्न प्रतियोगितामा आयोजकलाई २ लाख २६ हजार ७ सय ४० रुपैया घाटा भएको अध्यक्ष केसीले बताए । हामीले आर्थिकरुपमा पारदर्शिताको लागि १८ औ सँस्करणदेखि नै समापन समारोहमा नै आय व्ययको यथार्थ वितरण सार्वजनिक गर्दै आएा छौ, अध्यक्ष केसीले भने ।