ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “रामधुनीमा लेखनदासको मनपरी” शीर्षकको समाचार छापिएको छ । केही सरकारी कार्यालयमा पैसा लिएर आफै काम गरिदिनेबाट अधिकांश सेवाग्राहीले गेटबाटै हैरानी बेहोर्नु परेको सेवाग्राहीहरुले गुनासो गर्छन् । नपढेका सेवाग्राहीलाई सघाउ पुर्याउने भन्दै लेखापढी गर्ने व्यक्तिहरु कार्यालय अगाडी मनपरी गरीरहेको रामधुनी नगरपालिकाका स्थानीयले गुनासो गरेका गरेका छन् । नगरपालिका अगाडी न्यायिक समितिमा उजुरी गर्न पुग्नेहरु लेखापढि व्यावसायीबाट ठगिनु परेको उनीहरुको गुनासो छ । रामधुनी नगरपालिकाको न्यायिक समितिमा न्याय माग्न आउनेहरुसंग लेखनदासहरुले मनोमानी रकम लिने गरेको पाइएको छ । न्याय माग्दै निवेदन लेख्न आउनेहरुसंग नगरपालिकाबाहिर बस्ने लेखनदासहरुले मनोमानी रकम लिएको पाइएको हो । सामान्य ठाडो निवेदनदेखि फिराद पत्र लेखेकै १ हजारदेखि ३ हजारसम्म लिने गरेको पाइएको छ ।

पूर्व बजार : आजको पूर्वी बजार दैनिकमा “नेवि सङ्घ विवादको कारण मुख्य कारण पार्टी नेताहरुको स्वार्थ” शीर्षकको समाचार छापिएको छ । नेपालीका कांग्रेसको विद्यार्थी भातृ संगठन नेपाल विद्यार्थी संघ आन्तरिक कलहमा रुमलिएको छ । नेताहरुबिच कसको मान्छेलाई तदर्थ समितिको सभापति बनाउने र नेवि सङ्घ कसको पकडमा राख्ने भन्ने मुख्य विवादको कारण नेवि संघ विवादको मुमरीमा फसेको छ । प्रमुख प्रतिपक्षी रहेको नेपाली कांग्रेस सरकारको विरुद्धमा सडकमा हुनुपर्ने बेला संघको दुई गुटबीच सडकमै कुटाकुट शुरु भएको छ । नेवि संघ पूर्व महामन्त्री तथा कांग्रस केनद्रीय सदस्यले इटहरीको एक कार्यक्रममा सम्बोधन गर्दै सरकारको विरुद्धमा कार्यकर्तालाई सडकमा आउन आग्रह गर्दै गर्दा नेवि सघका कार्यकर्ताहरु आफुबीचमै ढुंगा हानाहान गरिरहेका थिए । विधानतः २ वर्षे कार्यकाल पुरा गरेको केन्द्रीय समिति भङ्ग भएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “ग्याँस नबेच्ने चेतावनी” शीर्षकको समाचार छापिएको छ । ग्याँसमा कमिसन वृद्धि गर्नुपर्ने लगायतका माग राख्दै ग्यास विक्रेताहरुले आन्दोलनको घोषणा गरेका छन् । अहिले उपलब्ध गराएको कमिसनले व्यवसाय सञ्चालन गर्न नसकिने अवस्था आएको भन्दै उनीहरुले तत्काल कमिसन बढाउन सरकारसंग माग गरेका हुन् । ग्याँस विक्रेताहरुले हाल पाउदै गरेको कमिसनबाट बढाएर ६ प्रतिशत पुर्याउनुपर्ने माग गर्दै आएका छन् । त्यस्तै ग्याँस विक्रेता र कामदारको विमा हुनुपर्ने, डिलर प्रमानीकरण गरिनुपर्ने र उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका माग उनीहरुले अघि सार्दै आएका छन् ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “किसान ठगेर कर्णाली एग्रिकल्चर फरार” शीर्षकको समाचार छापिएको छ । उन्नत जातको फलफुल तथा रुखका विरुवा दिने भन्दै घरैपिच्छे पैसा उठाएको एउटा कृषिसम्बन्धि संस्था लाखौँ रकम लिएर फरार भएको छ । कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपालको भोजपुरस्थित शाखा कार्यालय जिल्लाका २ हजार ५ सय किसानबाट रकम उठाएर फरार भएको हो । जिल्लामा कृषि तथा वनसंग सम्बन्धित विभिन्न कार्यक्रम गर्ने उद्देश्यले शाखा कार्यालयको रुपमा दर्ता भएर काम गरिरहेको उक्त संस्थाले जिल्लाका २ हजार ५ सयभन्दा बढी किसानसंग ३ सयका दरले ७ लाखभन्दा बढी रकम संकलन गरेर सम्पर्कविहीन भएको हो । संस्थाले गत भदौँ ५ गत्तेबाट नियुक्त गरेका कर्मचारीको तलबसमेत नदिएपछि कर्मचारीको बिचल्ली भएको छ ।