सुनसरी:सुनसरीको दुहबीमा मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरीतान च्याम्पियनसिप २०७५ आयोजना हुने भएको छ ।

सुनसरी जिल्ला डोरी तान संघले मंगलबार पत्रकार सम्मेलन गरी फागुन १७ गतेदेखि दुहवीस्थित श्री सरस्वती माविको खेल मैदानमा प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । नेपालमा डोरीतान प्रतियोगिता अन्र्तराष्ट्रियस्तरको पहिलो पटक हुन लागेको हो । प्रतियोगितामा नेपाल र भारतको समेत गरी ८ टिम सहभागिता जनाउने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा संघका केन्द्रीय उपाध्यक्ष सुभाषश्री पोखरेलका अनुसार प्रतियोगितामा झापा, मोरङ, सुनसरी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल सहभागी हुनेछ । यस्तै, भारतको झारखण्ड र विहारका टिम पनि सहभागी हुने उनले जानकारी दिए ।

संघको सुनसरी जिल्ला उपाध्यक्ष रमेशबावु थापाले मोरङ डोरी तान संघको सहकार्य तथा दुहवी नगरपालिकाको संयोजनमा प्रतियोगिता हुन लागेको जानकारी दिए । प्रतियोगितामा कुल ६ लाख १५ हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार, ट्रफी, मेडल तथा प्रमाण पत्र पाउनेछ भने दोस्रो हुने टिमले नगद २५ हजार ट्रफी, मेडल तथा प्रमाण पत्र पाउने उपाध्यक्ष थापाले जानकारी दिए ।

डोरीतान संघ नेपालमा २००७ सालमा स्थापना भएको थियो । तर, निष्क्रिय भएको थियो । संघलाई २०७४ सालमा पुर्नगठन गरिएको थियो । हाल नेपालको २७ जिल्लामा संघ गठन भइसकेको छ । भविष्यमा नेपालका सबै जिल्ला, प्रदेश र स्थानीय तहमा पनि संघ विस्तार गरिने र प्रदेशस्तरीय, एसियन च्याम्पियनसिप पनि आयोजना गरिने उपाध्यक्ष पोखरेलले बताए । प्रचार प्रसारको अभावले छाँयामा परेको यो खेललाई संरक्षण तथा प्रर्वद्धनको आवश्यकता भएको पोखरेलले बताए ।

डोरीतान खेलमा एउटा टिममा ८ जना खेलाडी सहभागी हुन्छन् । ८० फिट लामो डोरीलाई दुबै तर्फबाट एक अर्काले तानेर आफ्नोतर्फ डोरी तान्न सफल हुने टिम विजयी हुन्छन् । खेलमा एकतर्फका ८ जना खेलाडीहरु ६ सय केजीभन्दा बढी तौल हुन नपाउने नियम छ । नेपालमा राष्ट्रिय खेलकुद परिषदबाट मान्यता पाएको तथा टग अफ वार अन्तराष्ट्रिय माहासंघबाट सम्बन्धन पाएको नेपाल डोरीतान संघले यो खेलको प्रर्वद्धन गरिरहेको छ ।

तस्बिर स्रोत:प्रेम गिरीको फेसबुक