धरान: खोटाङको जन्तेढुङ्गा गाउँपालिका वडा नम्वर १ रोतुम्मा गाउँमा खुकुरी प्रहारबाट एक दम्पती गम्भीर घाइते भएका छन् ।

आईतवार राती करिब १० बजे भएको उक्त घटनाका घाइते दम्पत्तिको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । दुवैलाई छिमेकी दलबहादुर राईले सामान्य विवादमा जथाभावी खुकुरी प्रहार भएको स्थानीयले बताएका छन् । घाइते हुनेमा करिब ४५ बर्षीय अमृत राई र उनकी श्रीमति छन् ।

पतिको टाउकोमा गम्भीर चोट लागेको छ भने श्रीमतिको दाहिने हात काटिएको छ । अत्यधिक रक्तस्राव भएको कारण दुवैको अवस्था चिन्ताजनक बनेको थियो । उनीहरुलाई सोमबार बिहान उपचारको लागिग वीपी प्रतिष्ठान ल्याइएको प्रतिष्ठानस्थित प्रहरी विटका इञ्चार्ज तथा सई तिलक गिरीले जानकारी दिए । खुकुरी प्रहार गर्ने दलबहादुरलाई चिसापानी चौकीले नियन्त्रणमा लिइसकेको बताइएको छ । राई दम्पतिको आर्थिक अवस्था नाजुक भएकोले उपचारमा कठिनाई भइरहेको बताइएको छ ।