धरान: द्वन्दकालको अत्याधुनिक हतियारसहित धरान वडा न ६ पानवारी क्षेत्रबाट बुधबार समातिएका नेत्रबिक्रम चन्द्र विप्लवको नेपाल कम्युनिष्ट पार्टी कोशी ब्युरो सदस्यलाई थप अनुसन्धान गर्न धरान १३ स्थित संघीय इकाई प्रहरी कार्यालय ल्याइएको छ ।

लिम्बूको साथबाट नेपाली सेनासँग मात्र भएको एम १६ र सशस्त्र प्रहरीले पनि प्रयोग गर्ने एलएमजि हतियार वरामद भएपछि थप अनुसन्धानको लागि उनलाई संघीय प्रहरी कार्यालयमा ल्याइएको हो । प्रहरीले चेकिंगको क्रममा आज चोक्टीबाट देवकुमार लिम्बूलाई पक्राउ गरेको थियो । केही दिनअघि एक जनाको मृत्यु हुनेगरी श्रृंखलाबद्ध बम विष्फोटको घटनाले सुरक्षा चुनौती थपिइरहदा आज पुनः धरानमा अत्याधुनिक हतियार फेला परेपछि सुरक्षा संयन्त्रलाई संवेदनशील बनाएको छ । सशस्त्र जनयुद्धको क्रममा तत्कालीन माओवादीले नेपाली सेनाको ब्यारेक आक्रमण गरेर लुटेको हतियार लिम्बूको साथबाट वरामद भएको हुनसक्ने सुरक्षा अधिकारीहरुको अनुमान छ ।

लिम्बूलाई संघीय प्रहरी कार्यालयमा ल्याएपछि १ नं प्रदेश प्रहरी प्रमुख डिआईजी केदार रिजाल स्वयम पनि धरान आएका थिए । संघीय प्रहरी इकाई प्रमुख एसएसपी शरदकुमा खत्रीसँगै जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारी पनि अनुसन्धान तथा सोधपुछमा रहेका थिए । अत्याधुनिक हतियार भेटिएपछि सुरक्षा निकाय थप सर्तक हुनुपर्ने अवस्था आएपछि उच्च अधिकारीहरु निक्कै गम्भीर भएका छन् ।

IMG_20190227_145648

पक्राउ परेका लिम्बूले उक्त हतियार कुन ठाउँबाट ल्याएको हो ? कहाँ पुर्याउन हिडेका हुन् ? को को बीचमा कनेक्सन भएको छ ? यसको अनुसन्धानमा प्रहरी जुटिसकेको छ । प्रहरीले २ थान हतियारसहित एक पक्राउ परेको जानकारी दिए पनि विस्तृत खुलाएको छैन । ‘सुरक्षा चुनौतीलाई ध्यान दिएर चेक पोइन्टमा कडाई गरेका थियौ, यसै क्रममा पानवारीको चोक्टीबाट एक व्यक्ति पक्राउ परेका छन्, र दुई वटा हतियार पनि छ । हतियार कस्तो हो भनेर बिशेषज्ञ बोलाएका छौ, अहिल्यै केही भन्न सकिन्न,’डिआईजी केदार रिजालले भने,‘सुरक्षा संवेदनशीलतासँग जोडिएको कुरा हो, विस्तृत कुरा अनुसन्धान सकिएपछि नै भन्छौ ।’