ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “फेरि कर्णालीको अर्को ठगी” शीर्षकको समाचार छापिएको छ । भोजपुरमा कर्णाली एग्रिकल्चर डेभलपमेण्ट नेपालले फलफुल तथा विरुवा दिने भन्दै जिल्लाका २५ सय कृषकको लाखौ रकम उठाएर सम्पर्कविहिन भएको छ । कृषक तथा वनसंग कार्यक्रम गर्ने शाखा कार्यालयको रुपमा दर्ता भएको उक्त संस्थाले कृषकसंग ३ सयका दरले ७ लाख ५० हजार रकम संकलन गरेर सम्पर्कविहीन भएको हो । एग्रिकल्चरले गत भदौ ५ गतेबाट नियुक्ति दिएका कर्मचारीलाई तलब नदिएपछि कर्मचारीको समेत बिचल्ली भएको छ । कर्मचारीहरुले गाउँ–गाउँ गएर विभिन्न जातका फलफुल तथा विरुवा दिने शर्तमा प्रतिकृषक ३ सयका दरले रकम संकलन गरेका थिए । रकम संकलन गरेर कार्यालयमा बुझाएपछि सञ्चालकहरु फरार भएको कर्मचारी उत्तरराज खड्काले बताए । अर्का कर्मचारी प्रेमकुमारी खड्काले भनिन्, ‘विभिन्न जातका फलफुल तथा रुखका विरुवा दिनेपछि कृषकले पनि तीन सय दिन खासै गाह्रो मानेनन्, अहिले संस्था नै भागेपछि मुख देखाउन समेत लाजमर्दो भएको छ ।’

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “शिक्षकद्वारा बालिका बलात्कृत” शीर्षकको समाचार छापिएको छ । उदयपुरका एक शिक्षक बालिका बलात्कारको आरोपमा पक्राउ छन् । जिल्लाको कटारी नगरपालिका ८ घुम्तीस्थित जनप्रिय आधारभुत विद्यालयका शिक्षक विनोद लोहनी सोही ठाउँकी १० वर्षीय बालिकामाथि जबरजस्ती गरेको आरोपमा पक्राउ परेका हुन् । मङ्गलबार राती साढे ८ बजे ट्युसन पढाउने बहानामा कोठाभित्र पसेर बालिकालाई बलात्कार गरेको उजुरीका आधारमा २८ वर्षीय लोहनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । चितवन कठार नगरपालिका ४ स्थायी घर भएका लोहनी सो विद्यालयमा अस्थायी शिक्षकको रुपमा कार्यरत रहेको स्थानीयले बताएका छन् ।

त्यसैगरी आजको नागरिक पूर्वेलीमा “भ्रष्ट कर्मविरुद्ध निगरानी समुह” शीर्षकको अर्को समाचार पनि छापिएको छ । लोकतान्त्रिक शासन पद्धतिमा भ्रष्टाचार नियन्त्रण गर्नु राज्यकै मूल दायित्व भिश पर्छ । तर, शासनतन्त्र र पात्र बदलिए पनि भ्रष्टाचारको प्रवृति निरन्तर बढ्दो छ । भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्रियाशिल छ । तर पनि मुलुकमा जनताले महसुस गर्नेगरी सुशासन कायम हुन सकेको छैन । अख्तियारकै सहजिकरनमा नागरि कस्तरबाट भ्रष्ट कर्मविरुद्ध अभियान चर्काउन सुनसरीमा नागरिक निगरानी समुहको गठन गरिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा जिल्लाका विभिन्न सामाजिक संस्थामा क्रियाशिल स्वच्छ सामाजिक छवि भएका व्यक्तित्व डाकेर अख्तियारले भ्रष्टाचारविरुद्ध अभियान अभियान चर्काउनका लागि आगरिक निगरानी समुह गठन गरीएको हो ।

उद्घोष : आजको उद्घोष दैनिकमा “खोला उतखनन्को विरोध” शीर्षकको समाचार छापिएको छ । मोरङको केराबारी ९ देवीझोडामा स्थानीयबासीले क्रसर स्थापना गर्न नदिने निर्णय गरेको केही हप्ता नबित्दै वडा नं. ७ र ८ का स्थानीयबासीले खदम खोलामा उत्खनन् गर्न नदिने निर्णय गरेका छन् । केराबारी गाउँपालिकाले खदम खोलाको विभिन्न नाकाबाट प्रारम्भिक वातावरण मूल्याङ्कन ईआए गरेर खोला ठेक्का लगाए पनि स्थानीयबासीले कुनै पनि हालतमा खदमखोलाको चुरेक्षेत्रमा उत्खनन् गर्न नदिने निण्र्नय गरेका हुन् ।
गाउँपालिकाले सोमबार चुरेक्षेत्रमा उत्खनन्का लागि सहमति जुटाउन सरोकारवालाहरुबीच छलफल आयोजना गरेपनि स्थानीयबासीले अस्वीकार गरेका हुन् ।

त्यसैगरी आजको उद्घोष दैनिकमा “फार्मेसी सञ्चालकको भागाभाग” शीर्षकको अर्को समाचार पनि छापिएको छ । औषधि व्यवस्था विभागको टोली अनुगमणमा पुग्दा नोबेल मेडिकल कलेजको गेट नजिकै सञ्चालनमा रहेको फार्मेसिका सञ्चालक पसल बन्द गरेर भागेका छन् । सरकारी टोली अनुगमनमा पुग्दा नहरपूर्वपट्टी सञ्चालनमा रहेका ६ वटा औषधि पसलका सञ्चालकहरु भागेका हुन् ।