काठमाडौं : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच आज पनि भेटवार्ता हुँदैछ ।

उनीहरुले दोस्रो शिखर बार्ताको क्रममा आज दोस्रो तथा अन्तिम दिन महत्वपूर्ण विषयमा छलफल गर्ने बताइएको छ । दुई नेताबीच आजको बार्तामा कोरियाली प्रायद्धिपबाट आणविक हतियार हटाउने विषयमा छलफल हुने आशा गरिएको छ ।

सिंगापुरमा भएको पहिलो शिखर बार्तापछि आणविक विवाद समाधानमा दुई देशबीच थोरै भए पनि प्रगति भएको विश्वास गरिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता उनबीच हिजो भियतनामको राजधानी हनोइको एक होटलमा केहीबेर एक्लाएक्लै वार्ता भएको थियो ।

दुई नेताले सँगै खाना पनि खाएका थिए । बैठकले लगत्तै राष्ट्रपति ट्रम्पले एक टीव्ट गर्दै महत्वपूर्ण भेटघाट र खानपिन भनि उल्लेख गरेका थिए । दुई नेताबीच आज पनि विभिन्न चरणमा बार्ता हुने ह्वाइटहाउसले जनाएको छ । बार्ता पछि उनीहरुबीच द्धिपक्षीय सम्झौतामा हस्ताक्षर हुने र राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलन गर्ने जनाइएको छ ।