सुनसरी: सुनसरीको गढि गाँउपालिका १ मधेलीमा ३२ करोडको लगानीमा शान्ति पार्कको निर्माण भइरहेको छ ।

व्रह्मकुमारी राजयोग सेवा केन्द्रले दुई विगाह दुई कठ्ठा १६ धुर जग्गामा शान्ति पार्क निर्माण गरिरहेको हो । व्रह्मकुमारी राजयोग सेवा केन्द्रले महाशिवरात्रीका अवसरमा आयोजना गर्न लागेको महाशिवरात्री शान्ति महोत्सवका वारेमा जानकारी दिन इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

पार्कमा प्रदेश नम्वर १ कै सवैभन्दा ठूलो ३० फिटको शिवलिङ्ग निर्माण गरिएको छ । त्यहाँ पिरामिड आकारको ध्यान कक्ष वनाइएको छ । दुई हजार जना अटने हल वनाउने तयारी रहेको व्रह्मकुमारी गितादिले जानकारी दिनुभयो । तीन बर्ष भित्रमा पार्क निर्माण पूरा हुने वताइएको छ । जीवनलाई सकारात्मक वनाउदै आध्यामिक जागरण र पर्यटनको विकासका लागि पार्क निर्माण गरिएको उनले जानकारी दिए ।

पार्क निर्माणका लागि स्व कुमार शमशेर थापाको स्मृतिमा उहाँकी श्रीमति किरण थापाले सो जग्गा निशुल्क प्रदान गर्नुभएको व्रह्मकुमार विनोदले जानकारी दिनुभयो । महाशिवरात्रीका अवसरमा प्रदेश नम्वर १ का २२ वटै सेवाकेन्द्रले संयुक्त रुपमा महाशिवरात्री शान्ति महोत्सव गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

फागुन १९ गते इटहरी देखि मोटरसाइकल रयाली,२० गते शारदा मावि खनार देखि शान्तिपदयात्रा,ओम शान्ति शान्ति पार्क मधेलीमा आत्यात्मिक प्रवचन तथा विबिध सास्कृतिक कार्यक्रम गरिने भएको छ । यसैगरि फागुन २२ गते शान्ति पार्कमै निशूल्क स्वास्थ्य तथा आँखा शिविर गर्नुका साथै निशूल्क औषधी वितरण गरिने व्रह्मकुमारी शारदाले जानकारी दिए ।