इटहरी : विराटनगरको रानीदेखि धरानसम्म निर्माण भईरहेको ६ लेन सडकखण्ड अन्र्तगत तरहरामा निर्माण भईरहेको काममा लापारबाही भएको पाइएको छ ।

इटहरी–२० तरहरामा निर्माणाधिन अवस्थामा रहेको सडकको नालामा माटो थुप्रिएपनि सम्बन्धित निकायले वास्ता नगरेपछि काममा चरम लापरवाही भएको पाइएको हो । स्थानीय जीवन कार्कीका अनुसार यहाँ सडक निर्माणका क्रममा नालामा माटो थुप्रिए पनि सम्बन्धित निकायको ध्यान नजाँदा बर्खायाममा पानी जमेर बस्तीमा पस्ने गरेको छ । ‘बर्खामा बाढी आउँदा माटोले थुनिएर बाढी बस्तीमा पस्छ’ कार्कीले भने, ‘अहिले माटोले थुनिएपछि नालामा पानी नबगेर बाहिर बग्ने भएकाले समस्या छ ।’ यहाँको सडक निर्माणको क्रममा नालामा माटोले थुनिएपछि आँफूहरुले सम्बन्धित निकायलाई पटक–पटक गुनासो गर्दा पनि अटेर गरेको कार्कीको भनाई छ । उनले सडक निर्माणमा खटिएका मजदुरहरुलाई उदृत गर्दै भने, ‘मैले पटक–पटक यो सडक बनाउँने क्रममा माटोले पुरियो भनेको पनि हुँ, तर अटेर गरेर माटो झन् हालिराखेका छन्, अहिले पानी जमेको छ ।’ उक्त ठाउँमा पानि जमेको अवस्थामा पनि सम्बन्धित निकायले चासो दिएको नपाइएको कार्कीको आरोप छ ।

उनले सडक निर्माण गरिसकेर बनाउने अपेक्षा गरेको भएपनि धमाधम सडकको काम हुँदा यहाँ माटोले पुर्दै गएपछि अहिले पानी जमेकाले दीर्घकालीन असर पर्ने बताए । यता यस बिषयमा सडक विभागका इन्जिनिएर सागर बडालसँग सम्पर्क गर्दा उनले बीचको समयमा काम रोकिएको कारण यस्तो भएको प्रतिक्रिया दिए । उनले भने, ‘बीचमा काम छाडेर यस्तो भएको हो, त्यो पहिलादेखिकै समस्या थियो, यसले निराकरण पाउँछ केही समय लाग्छ ।’ उनले काम निरन्तर रुपमा नहुँदा यस्तो भएको बताउँदै भने, ‘चैत्र १५ देखि पिँचको पनि काम सुरु गर्नेछौँ, अन्तिममा गार्डेनको काम हुन्छ ।’ विद्युत् प्राधिकरणले बिजुलीको पोल नहटाएका कारण पनि समस्या भईरहेको उनले सुनाए । अहिले प्राधिकरणले इटहरीको बरगाछीसम्म पोलको काम हटाउँदै आएको छ ।