धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले किरात जात हो कि सभ्यता हो भनेर बहस गरिरहनु नपर्ने धारणा राख्दै किरातप्रति कसैको पनि विमति गर्नुपर्ने कारण नभएको बताएका छन् ।

किरात राई यायोक्खाको शनिबार धरानमा १० औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दे मुख्यमन्त्री राईले किरात भन्नेबित्तिकै सभ्यता हो भन्ने तथ्यप्रति सबै जानकार रहेको बताए । साथै, उनले किरात भन्नुबित्तिकै इतिहास, सभ्यता र भुगोल हो भन्ने तथ्य र तर्कप्रति शीर्ष नेताहरुको पनि कुनै विमति नभएको प्रष्ट पारे । ‘किरात जात कि सभ्यता भनेर बहस गरिरहनु पदैन, किरात के हो भनेर न केपी शर्मा ओली, न प्रचण्ड अथवा शेरबहादुर देउवाको नै विमति छ,’मुख्यमन्त्री राईले भने,‘विमति गर्नुपर्ने कारण छैन, उपयुक्त तर्क, तथ्य र आधारहरु छन् ।’ यद्यपी उनले नाम र स्थायी राजधानीको बिषय उपयुक्तढंगले खास समयमा छलफल, विचार विमर्श गरेर सहमतिमा टुंग्याउने बताए ।

मुख्यमन्त्रीले सहजकताको भुमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी भएको प्रष्ट्याउदै उनले नाम र स्थायी राजधानीको बिषयमा प्रदेशसभाले छलफल गर्ने र दुई तिहाई बहुमतले निर्णय गर्नुपर्ने बताए । आफुले सहजकर्ताको भुमिका निर्वाह गरिरहेको भन्दै मुख्यमन्त्री राईले सहमतिबाट नै राजधानी र नामकरणको बिषय टुंग्याउन सकिने विश्वास पनि व्यक्त गरे । ‘तपाईहरुको भावनाभन्दा बाहिर र टाढा छैनौ, मलाई विश्वास छ कि सहमतिबाटै निर्णय गर्नसक्छौ,’उनले भने ।

sherdhan rai

संविधान सभाले पनि ५ बर्ष ८ महिनामा पनि टुंग्याउन नसकेको प्रदेश राजधानी र नामकरण जटिल बिषय भएकोले प्रदेशसभाले पनि आवश्यक छलफल, विचार, विमर्श गरेर सहमतिबाट टुंग्याउन आफुले प्रयास गरिरहेको मुख्यमन्त्री राईको भनाई थियो । अर्को एक प्रसंगमा मुख्यमन्त्री राईले संघीयताको बाटोबाट मात्र मुलुक समृद्ध, वलियो, सशक्त, सुन्दर र सामथ्र्यवान हुने बताए । ‘संघीयताबाट मात्र विभेद र खाडल पुरिन्छ, संघीयताबाट नै पहिचान, पहुँच र प्रतिनिधित्व हुन्छ,’उनले भने,‘संघीयताकै कारण म मुख्यमन्त्रीकोरुपमा उभिएको छुँ, टिका लगाएर होइन, प्रतिस्पर्धात्मक क्षमतामार्फत नै आएको हुँ ।’

किरात मानव सभ्यता र दर्शन हो: सभामुख भण्डारी

pradeep bhandari

प्रदेश सभामुख प्रदिपकुमार भण्डारीले पनि किरात शब्द कुनै जातजातिमा सिमित नभएको बताएका छन् । किरात राई यायोक्खाको १० औं महाधिवशन उद्घाटन समारोहमा बोल्दै सभामुख भण्डारीले किरात शब्द मानव सभ्यता र दर्शन भएको बताए । ‘सबैको आवाज, भावना समेटिने गरी, सबैलाई अपनत्व हुने गरी र प्रदेशको एकता अक्षुण रहने गरी नामाकरण हुनुपर्छ, प्रदेश सभका माननियहरुले पक्कै पनि आफ्नो विवेकबाट सही निर्णय गर्नुहुनेछ,’उनले भने ।