ब्लाष्ट टाइम्स : आजको ब्लाष्ट टाइम्स दैनिकमा “‘कस्मेटिक’ सामान भारततिरै तस्करी” शीर्षकको समाचार छापिएको छ । झापाको भद्रपुरबाट सौन्दर्यका र खाद्यान्न सामाग्री मटर तस्करी भईरहेको पाइएको छ । कारोबारीले स्थानीय टाठाबाठा र कारोबारको विषयमा चासो राख्नेलाई खुशी पारेर तस्करीमार्फत सामाग्री भारततर्फ निकासी गरिरहेका छन् । सीमामा खटिएका प्रहरीलाई समेत चुनौती दिदैँ कारोबारीले फेयर लब्लि, कोलगेट मञ्जन, पत्ताको सेम्पु, चुरोट, हाजमोला, सेतो मटर लगायत दैनिक लाखौँको सामान भारत लैजाने गरेका छन् ।
अधिकांश भद्रपुर क्षेत्रका कारोबारीले साइकल तथा टाउकोमा बोकाएर मजदुरमार्फत सामान भारत पठाउने गरेका छन् । नेपाली विक्रीमूल्य उल्लेख गरिएको शौन्दर्यका सामान भारतमा भारतीय मूल्यमा नै बिक्री हुने गरेकोले त्यस्ता सामान भारततर्फ तस्करी हुने गरेको व्यापारीको भनाई छ । मल्टीनेशनल रुपमा बिक्रीको अनुमति पाएकोले नेपाल लिभरका सामान भारत तस्करी हुने गरेको व्यावसायीको दाबी छ ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “विराटनगरका रेष्टुरेण्टमा यौन धन्दा” शीर्षकको समाचार छापिएको छ । विराटनगर महानगरपालिका क्षेत्रका रेष्टुरेण्टहरुमा यौनधन्दा हुने गरेको पाइएको छ । रेष्टुरेण्टहरुका सञ्चालकले जबरजस्ती डर, त्रास देखाएर किशोरीहरुलाई यौनधन्दामा लगाउने गरेको पाइएको हो । पहाडी जिल्लाहरुबाट रोजगारीको लागि काम खोज्दै आएका किशोरीहरुलाई रेष्टुरेण्टमा काममा लगाउने र होटलमा आएका ग्राहकहरुसंग मोटो रकम लिएर सञ्चालकहरुले यौनधन्दामा लगाउने गरेका हुन् । काम गर्ने किशोरीहरुलाई जबरजस्ती डर, त्रास देखाएर यौनधन्दामा लगाएको आरोपमा मोरङ प्रहरीले विराटनगरको टिफिन रेष्टुरेण्टकी सञ्चालिका प्रिया श्रेष्ठलाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी कृष्ण खड्काका अनुसार विराटनगर महानगरपालिका ११ रोडशेस चोकमा विभिन्न जिल्लाहरुबाट रोजगारीको सिलसिलामा आएका किशोरीहरुलाई डर, त्रास देखाई रेष्टुरेण्टमा ग्राहकहरुसंग यौनसम्पर्क राख्न लगाउने गरेको पाइएको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “हत्याको २८ वर्षपछि वृद्ध पक्राउ” शीर्षकको समाचार छापिएको छ । इलाममा छिमेकीको हत्या गरी फरार रहेका एक वृद्धलाई प्रहरीले २८ वर्षपछि पक्राउ गरेको छ । जिल्लाको साविक जोगमाई गाविस ९ हाल सुर्यादयन गरपालिका १ का ७३ वर्षीय रणबहादुर राईलाई पशुपतिनगरस्थित भारतीय सीमाक्षेत्रबाट पक्राउ गरिएको हो । २०४७ साल वैशाख ४ गते राइले छिमेकी धर्मध्वज थापालाई छुरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी माधव क्षेष्ठले बताए । जिल्ला अदालतका तत्कालिन न्यायधिस प्रकाश ढुंगानाको इजलाशले २०७० पुष २४ मा राईलाई हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद फैसला सुनाएको थियो । सर्वोच्चका नयायधिश चोलेन्द्रसमशेर जवरा र केदारप्रसाद चालिसेको संयुक्त इजलासले २०७३ चैत २४ मा राईलाई सर्वस्वसहित जन्मकैद फैसला सुनाएको थियो ।

उद्घोष : आजको उद्घोष दैनिकमा “भ्रष्टचारीलाई सार्वजनिक गर” शीर्षकको समाचार छापिएको छ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाल एयरलाइनसको वाइड बडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारमा संलग्न भएका ििवपक्षीको नाम सार्वजनिक गर्नुपर्ने बताएका छन् । उनले वाइडबडी प्रकरणमा विपक्षीको संलग्नता रहको पाइए तत्काल नाम सार्वजनिक गर्न चुनौति दिएका छन् । विराटनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यो प्रकरणमा विपक्ष्ी दलाका कोही नेता संलग्न भए सरकारले तिनको नाम सार्वजनिक गरोस् ।’ वाइडबडी प्रकरणमा सरकारले दोहोरो चरीत्र देखाएको र सरकारी छानवीन समिति बनाएर झन् आफ्नो अभिष्ट उदांगो पारेको आरोप लगाए ।

त्यसैगरी आजको उद्घोष दैनिकमा “महिला साफको तयारी तीब्र” शीर्षकको समाचार छापिएको छ । यही फागुन २८ गतेदेखि विराटनगरमा आयोजना हुने साफ च्याम्पियनसिपको लागि सहिद रंगशालाको स्वरुप परिर्वतन गरिएको छ । रंगरोगन र मैदान मर्मत गरी रंगशालाको स्वरुप परिवर्तन गरिएको हो । तर मैदानसम्म प्रवेश गर्ने महानगरको सडकको अवस्था भने दयनीय छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण सहिद रंगशालासम्म पुग्ने सडक अझै पुरा भएको छैन । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले तीन साताअद्धि फागुन १५ गतेभित्र सडक निर्माणको काम सकिने बताएका थिए । तर, काम पुरा नभएपछि निर्माणको समय फागुन २५ गते पर्याइएको छ ।