इनरुवा : सुनसरीको गढी गाउँपालिका ६ सतैरझोरामा शिवरात्री महोत्सव सुरु भएको छ ।

शिवरात्रीको अवसरमा गढी गाउँपालिका ६ सतैरझोरामा रहेको नाटेश्वर शिव मन्दिरमा शिव लिगं स्थापना तथा शिवरात्री महोत्सव सुरु भएको वडा अध्यक्ष बन्धुलाल सरवरीयाले जानकारी दिए ।

सरवरियाका अनुसार दुहवीको चरैया र भुटाहामा शिव मन्दिर रहेको र त्यसको बीच भागमा गर्ने गढी गाउँपालिका ६ सतैरझोरामा शिव मन्दिरको आवश्यकता महसुस गरेर मन्दिर निर्माण गरि शिव लिगं राखिएको र शिवरात्री महोत्सव सुरु गरेको हो । यहाँ शिवरात्री महोत्सवको पहिलो दिन आईतबार विहान एक सय आठ कन्या सहित सयौं स्थानीयहरुको सहभागितामा कलश यात्रा निकालिएको थियो ।

स्थानीय थालाहा खोलाबाट कलशमा जल लिएर नाटेश्वर शिव मन्दिरसम्म कलश यात्रा निकालिएको हो । गढी गाउँपालिकाकी उपाध्यक्ष राजकुमारी चौधरी सहितको अगुवाईमा भव्य कलस यात्रा सम्पन्न गरिएको वडा सचिव युवराज पोखरेलले जानकारी दिए । कलस यात्रासगैं शिव पुजा समेत गरिएको छ भने राती शिव चर्चा र सोमबार दिउसो २ बजेदेखी २४ घण्टे अष्टजाम सुरु हुने र फागुन २१ गते मंगलबार अष्टयाम समापन हुने गरि शिवरात्री महोत्सव आयोजक समितिले जनाएको छ ।

गाउँमा पहिलो पटक ऐतिहासिक कार्यक्रम भएकाले सबै भक्तजन तथा अनुयायीहरुको उत्साहजनक सहभागिता रहेको मन्दिर समितिका सचिव प्रदिप शाहले जानकारी दिए । कार्यक्रममा राम प्रकाश ठाकुर, नाटेश्वर मन्दिर समितिका अध्यक्ष शंकर चौधरी , वडाका जनप्रतिनिधिहरु , महिला , शिक्षक तथा विधार्थी समेतको सहभागिता रहेको थियो ।