धरान: किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनको धरानमा जारी बन्द सत्रमा किरात राई पत्रकार संघ केन्द्रीय समितिका प्रतिनिधिहरु सहभागी हुनबाट बञ्चित भएका छन् ।

राई पत्रकार संघ सुनसरीको विवाद मिलाउन असफल भएको केन्द्रीय समितिले यायोक्खाको महाधिवेशनमा ३ जना प्रतिनिधिहरु पठाएको थियो । सुनसरी जिल्लाको पत्रकार संघमा उत्पन्न विवाद समाधान गर्न नसकेपछि संघको केन्द्रीय समितिका प्रतिनिधिहरु नै बन्दसत्रबाट बञ्चित भए । यायोक्खाले पत्रकार संघ सुनसरीको विवादले असहज परिस्थिति बन्ने भन्दै केन्द्रीय प्रतिनिधिहरुलाई पनि बन्दसत्रमा सहभागी नगराएको हो । यसअघि, यायोक्खाको सुनसरी जिल्ला अधिवेशनमा पनि पत्रकार संघको जिल्ला समितिलाई प्रतिनिधि हुनबाट रोकिएको थियो ।

जिल्ला अधिवेशन विवाद मिलाउनुको साटो पत्रकार संघको केन्द्रीय अध्यक्ष भिम राई धरान आएर विवाद चर्काउने गरी विज्ञप्ती जारी गरेपछि पत्रकार संघको केन्द्रीय समिति नै विवादमा तानिएको थियो । सुनसरीमा अधिवेशन नगरी विशाल राई अध्यक्ष भएको समिति गठन भएको थियो भने त्यसलाई अवैधानिक घोषणा गर्दै बहुसंख्यक राई पत्रकारहरुले प्रविण राईको अध्यक्षतामा समानान्तर समिति गठन गरेको थियो । यो विवाद मिलाउनुको साटो केन्द्रीय अध्यक्ष राई धरान आएर विशाल राई पक्षसँग मात्र छलफल गरेर विज्ञप्ती जारी गरेपछि पत्रकार संघको विवाद चर्किएको थियो ।

यायोक्खाको बन्दसत्र चलिरहेको अवस्थामा प्रतिनिधि पठाउने सम्बन्धमा दुई पटक बसेको वार्ता निष्कर्षहिन बन्यो । हिजो बन्दसत्र शुरु हुनअघि पत्रकार संघ सुनसरीको प्रविण राई समुहले सुनसरीको विवाद नसल्टिएसम्म केन्द्रबाट प्रतिनिधिमा भाग लिन नपाउने तर्क अघि सारेपछि यायोक्खाले विवादित भएकोले पत्रकार संघ केन्द्रीय समितिका प्रतिनिधिलाई बन्दसत्रमा सहभागी हुन नदिने बताएको थियो । त्यसपछि, दिउसो २ बजेतिर बन्दसत्र शुरु भएको थियो । पत्रकार संघको प्रतिनिधि सम्बन्धमा पुनः दोस्रो पटक यायोक्खा, पत्रकार संघको केन्द्रका प्रतिनिधि र सुनसरीका प्रविण राई पक्षबीच त्रिपक्षिय वार्ता भएको थियो । दोस्रो वार्तामा पत्रकार संघ केन्द्रीय समितिबाट २ जना र सुनसरीबाट १ जना प्रतिनिधि पठाउने सहमति भएको थियो । तर, यो सहमति पनि लागु नभएको वार्तामा सहभागी पत्रका संघ सुनसरी सल्लाहकार जनकऋषि राईले बताए । उनले भने,‘अहिलेसम्म प्रतिनिधि मागिएको छैन, केही कुरा मिलेन होला’ ।

IMG_2112

यता यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईले प्रतिनिधि पठाउने भन्ने सहमति बनेपनि त्यसको आधिकारिक जिम्मा पत्रकार संघ केन्द्रीय समितिले नलिएपछि प्रतिनिधि लिन समस्या भएको बताए । ‘एक खालको सहमति बनेपनि आधिकारीक जिम्मा कस्ले लिने भन्ने समस्या देखीयो,’उनले भने,‘पत्रकारको केन्द्रीय अध्यक्ष काठमाडौमा हुनुहुन्छ, यहाँको यो निर्णयको कार्यान्वन गर्ने जिम्मेवारी कस्ले लिने भन्दा यहाँको साथीहरुले लिने भन्नुभयो तर, पहिला पनि हामीले गरेको निर्णय कार्यान्वयन भएको छैन, त्यसैल हामीले भिमजीलाई आधिकारीक कुनै पत्र पठाउनुस् की तपाइ आउनुस् भन्दा त्यो पनि गर्नुभएन त्यसकारणले दुःखका साथ सहभागी गाराउन सकेनौं ।’

पत्रकार संघको प्रतिनिधिको बिषयमा विवाद उठेपछि यायोक्खा अध्यक्ष राईले बन्द्र सत्रमा प्रतिनिधिहरुलाई घटनाक्रमबारे विस्तारमा जानकारी गराएका थिए । त्यसपछि, पत्रकार संघको प्रतिनिधि सहभागी नगराउने उनको प्रस्तावलाई हलले सर्वसम्मत पारित गरेको थियो । पत्रकार संघको आन्तरिक समस्या समाधानको लागि मातृसंस्था यायोक्खाले धेरै चासो देखाउदा पनि पत्रकार संघ केन्द्रीय समितिले चासो नदिएको यायोक्खा अध्यक्ष राईले बताए । जिल्ला समितिको समस्या सुल्झाउनका लागि सर्बसम्मती रुपमा थुप्रै निर्णय भएपनि कार्यान्वन नहुनु दुःखको कुरा भएको उनले बताएका थिए ।

सुनसरीमा राई पत्रकारको के हो विवाद ?

किरात राई पत्रकार संघ सुनसरीको तत्कालीन अध्यक्ष सन्देश राईले कार्यसमिति सदस्य विशाल राईलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएर भोजपुर गएका थिए । कार्यवाहक राईले गत बर्षको माघ २७ गते जिल्ला अधिवेशन बोलाएका थिए । समय अनुकुल नभएको र धेरैलाई जानकारी पनि नभएको भन्दै सुनसरीमा क्रियाशिल राई पत्रकारहरुले अधिवेशन सार्न यायोक्खाको जिल्ला, केन्द्रीय समिति र पत्रकार संघकै पनि केन्द्रीय समितिलाई लिखित निवेदन दिएका थिए । तर, जिल्ला समितिले सोही दिन नै अधिवेशन आयोजना गरेको थियो । पत्रकार संघका तत्कालिन उपाध्यक्ष प्रकाश राई र भोटराज राई केन्द्रीय प्रतिनिधिको रुपमा आएका थिए । तर, त्यसदिन अधिवेशन हुन सकेन ।

सहमतिमा जुटाएर अधिवेशनको मिति तय गर्ने र केन्द्रीय प्रतिनिधि बोलाएर अधिवेशन गर्ने निर्णय भएको थियो । तर, विशाल राईले अधिवशेन नगराई आफु अध्यक्ष भएको लिखित माइन्युट गरेर ३ जना प्रतिनिधि केन्द्रीय समितिको अधिवेशनमा गएपछि सुनसरीका राई पत्रकार संघको विवाद शुरु भएको थियो । यो थाह पाएपछि बहुसंख्यक क्रियाशिल राई पत्रकारहरुले भेला भएर प्रविण राईको अध्यक्षतामा राई पत्रकार संघ गठन गरेको थियो । यो विवादले पत्रकार संघको केन्द्रीय समिति अधिवेशन पनि अवरोध भएपछि केन्द्रीय समितिले प्रविण राईको संघलाई पनि ३ जना प्रतिनिधि पठाउन भनेपछि महाधिवेशनमा विशाल राई र प्रविण राई पक्षको ३/३ जना प्रतिनिधि सहभागी भएका थिए ।

विवाद चर्किएपछि धरान आएको समयमा पत्रकार संघका केन्द्रीय अध्यक्ष भिम राईले दुवै पक्षसँग छलफलै नगरी विशाल राई नेतृत्वको समितिलाई आधिकारिकता दिएपछि विवाद थप चर्किएको थियो । पत्रकार संघको विवाद मातृसंस्था यायोक्खाको केन्द्रीय समितिमा पनि पुगेपछि केन्द्रीय अध्यक्ष तिलक राईको उपस्थितिमा दुवै पक्ष राखेर धरानमा बैठक बसेको थियो । उक्त बैठकले कार्यवाहक अध्यक्ष विशाल राईले अधिवेशन गराउनुपर्ने केन्द्रीय प्रतिनिधिकै रोहबरमा निर्णय भएको तथ्य खुलेपछि एक महिना(माघ २४)भित्र अधिवशेन बोलाउन समय दिने र नबोलाएमा यायोक्खा जिल्ला समितिले फागुन १० भित्र नै अधिवेशन गराउने निर्णय गरेको थियो । तर, पत्रकार संघ जिल्ला समितिको अधिवेशन अहिलेसम्म हुन सकेको छैन ।