धरान(डेस्क): नेकपाका अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन समयमा क्यान्टोनमेन्टमा राखिएको हतियार चोरी भएको बताएका छन् । गएको बुधबार धरानमा द्धन्दकालको अत्याधुनिक हतियार भेटिएको घटनाप्रति प्रतिक्रिया दिदै अध्यक्ष दाहालले केही हतियार चोरी भएको बताएका हुन् ।

विराटनगरमा सोमबार पत्रकारहरुले सोधेको प्रश्नमा जवाफ दिदै अध्यक्ष दाहालले क्यान्टोन्मेन्टमा राखिएको हतियार चोरी भएको बारे तत्कालीन सरकारलाई जानकारी आफुहरुले गराएको पनि जिकिर गरे । 'हामी शान्ति प्रक्रियामा आएपछि क्यान्टोनमेन्टमा राखिएको केही हतियार चोरी भएको थियो,'अध्यक्ष दाहालले भने,' त्यो सुचना तत्कालीन सरकारलाई दिएका थियौं ।'

चोरी भएको हतियारबाहेक सबै हतियार व्यवस्थापन गरिएको पनि अध्यक्ष दाहालले दाबी गरे । लडाकु शिविरभन्दा बाहिर कसैले हतियार लुकाएर राखेको बिषयमा आफुहरु जिम्मेवार हुन नसक्ने पनि दाहालको धारणा थियो । विप्लव समुहसँग हतियार हुनु ठुलो कुरा नभएको भन्दै दाहालले त्यसलाई हतियार व्यवस्थापनको समस्या हाल नभएको भनेर प्रचार गर्नु उचित नहुने पनि बताए ।

biplop-mao

गत बुधबार धरानको वडा नं ६ चोक्टीबाट नेत्रबिक्रम चन्द्र(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कोशी ब्यूरो इञ्चार्ज देवकुमार लिम्बूको साथबाट एम १६ र एलएमजि वरामद भएको थियो । उक्त हतियार द्धन्दकालमा सेनाबाट लुटिएको अनुमान गरिएको छ । तर, कुन ब्यारेक वा ठाउँबाट लुटिएको हो भन्ने खुलिसकेको छैन ।

राजनीतिक सहमतिमा आउन विप्लवलाई आग्रह

सत्तारुढ दलका अध्यक्ष दाहालले विप्लवलाई राजनीतिक सहमतिमा आउन आग्रह गरेका छन् । सहमतिमा नआए प्रशासनिक समाधान खोज्ने चेतावनी पनि उनले दिए । अतिवादलाई नियन्त्रण गर्न सरकार गम्भीर भएर लाग्ने पनि उनको भनाई थियो । सरकारले राजनीतिकरुप्मा सहमतिको लागि हदैसम्मको प्रयास गरेको छ, र भविष्यमा पनि गर्छ, दाहालले भने,‘हेर्दै जानुहोला, राजनीतिक र प्रशासनिक दुबैतिरबाट यो समस्याको समाधान निकालिन्छ ।’

पार्टी एकता चाडै टुंगिने

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता चाडै टुंगिने बताएका छन् । पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले दुई दिनभित्रै पार्टी एकता टुंगिने बताए । एकताको सम्पूर्ण प्रक्रिया अन्तिम चरण पुगेको उनको भनाई थियो । 'पार्टी एकताका लागि प्रदेशहरूको प्रस्ताव पारित भइसकेको छ, अब दुई दिनभित्रै पार्टी एकता टुंगिन्छ,'अध्यक्ष दाहाले भने । सरकारले पनि गति लिने बताउदै अध्यक्ष दाहालले मन्त्री हटाउने र घटाउने बिषयमा कुनै कुराकानी नभएको पनि प्रतिक्रिया दिए ।

मुलुकमा अतिवादीहरुले वामपन्थी सरकारविरुद्ध षडयन्त्र गरिरहेको बताउदै उनले विकास र समृद्धिको सपना जसरी पनि पुरा भएरै छाड्ने बताए । दाहालले राजपा र सरकारबीच कुराकानी भइरहेकोले सरकारलाई दिएको समर्थन फिर्ता नहुने जिकिर गरे । यस्तै, सङ्घीय समाजवादी फोरमसँग भएको तीन बुँदे सहमतिको आधारमा संविधान संशोधन हुने र त्यसबेला राजपासँग पनि सहमति हुनसक्ने आशा व्यक्त गरे ।